नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्त भएको बताएका छन ।
महासंघमा मंगलबार आयोजित राजस्व सम्वद्ध चार महानिर्देशकहरुसँगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक वर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको बताए । भूतप्रभावी कानून, करका दरहरुमा हुने परिवर्तन र निजी क्षेत्रप्रतिको धारणाका कारण सरकारको राजस्व पनि अपेक्षित रुपमा उठ्न नसकेको उनको भनाइ थियो ।
आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकहरुको सहभागितामा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले कृषिजन्य वस्तुको आयातमा लागेका अग्रिम आयकर, फलामे छडको अन्त : शुल्कका बिषय आउन थालेको विवाद, नयाँ करका दरहरु लगायतका बिषयमा सरकार सम्बेदनशिल हुनपर्ने बताए ।
यसैगरि, उनले नेपालमा सयौं वर्षदेखि निरन्तर व्यवसाय चलिरहेको र आधुनिक कर सम्बन्धि कानूनहरु धेरै समयपछि मात्र आएको हुँदा सम्पत्ति अभिलेखीकरणको अवसर सबैलाई प्रदान गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल राष्ट बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण अनुसन्धान विज्ञ हरि नेपालले सम्पत्ति अभिलेखीकरणको मोडालिटिबारे थप छलफल आवश्यक रहेको वताए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगका महानिर्देशक कमल भटराईले यो बिषय अन्तरराष्टिय स्तरमा पनि रहेको हुँदा लगानी निरुत्साहित नहुने गरि सुधार गर्दै जानुपर्ने बताए ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बुढाले राजस्व अनुन्धानले निजी क्षेत्रसँगको सहकार्यमा काम गर्न चाहेको बताए । उता भन्सार विभागका महानिर्देशक ढुण्डीराज निरौलाले भन्सार सहजीकरणका लागि थप छलफल गरि सहजीकरण गरिने बताए ।आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले निजी क्षेत्र मैत्री कर प्रशासन बनाउन सरकार प्रयासरत रहेको बताए ।
महासंघका उपाध्यक्ष हेमराज ढकालले वस्तुगत संघहरुले दिएका सुझाव कार्यान्वयनका लागि सरकारसमक्ष आग्रह गरेका थिए ।छलफलमा महासंघका सदस्य जिल्ला नगर, वस्तुगत, द्धिराष्टिय र एसोसिएट गरि १००भन्दा बढि सदस्यहरुको सहभागिता थियो ।