बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउन बैंकर्स र व्यवसायी छुट्याउने नीति : अर्थमन्त्री पुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2024 | 04:18:00 PM मा प्रकाशित

laxmi sunrise bank

अर्थमन्त्री बर्षमान पुनले बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउनको लागि बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभामा बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन् । उनले स्वार्थ बाझिने गरी बैंकर्स र व्यवसायी एकै खालको हुन नहुने विषय आएकाले बैंकर्स र व्यवसायी छुट्याएर बैंकलाई थप व्यवस्थित गर्न खोजिएको बताए । 

उनले यसको लागि अर्थमन्त्रालय,राष्ट्र बैंकको समन्वय र सरोकारवालाहरुको राय परामर्शमा विधेयकमा नयाँ व्यवस्था गरिएको बताए । उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली,औजार, सुरक्षा र जोखिमका आधारमा वित्तीय संस्थाको प्रभावकारी व्यवस्था तथा नियमन गर्नको लागि ल्याएको बताए । 

साथै उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय वातावरण तथा प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न र संविधान अनुसार तीन तहका सरकारमा वित्तीय अधिकार क्षेत्र व्यवस्थित रुपले कार्यान्वयन गर्न प्रदेश सरकारहरुले प्रदेश बैंकहरु खोल्न शुरु गरेको बताए । 

उनले नेपालको समग्र बैंकिङ क्षेत्रको विश्वसनियता अभिबृद्धि गर्न,राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायीत्व कायम गर्न,बैंक तथा वित्तीय संस्थाहरुको स्थापना,सञ्चालन र व्यवस्थापन र नियमन गर्न विधेयक ल्याएको पनि बताए ।

बैंकका सञ्चालक वा १ प्रतिशतभन्दा बढी शेयर ग्रहण गर्नेले १० प्रतिशतभन्दा बढी चुक्तापूँजी रहनेगरी अरु कम्पनीमा लगानी गर्न नपाइने व्यवस्था संशोधित विधेयकमा छ ।सांसद सोविता गौतमले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा ५ र बढीमा ७ जना रहने व्यवस्थालाई कम्पनी ऐनअनुसार ७ देखि ११ सम्म बनाउन सकिने बताइन्।  साथै उनले एक महिला र २ स्वतन्त्र सञ्चालक हुनुपर्ने व्यवस्थाको प्रशंसा  गरेकि छिन् ।

छलफललमा सहभागी सांसदहरुले विधेयकमा बैंकर र व्यवसायी छुट्याउन गरिएको प्रयासको प्रशंसा गरेका थिए । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved