आर्थिक वर्ष सकिन ७ दिन मात्र बाँकी, पूँजीगत खर्च किन सुस्त ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2024 | 02:39:36 PM मा प्रकाशित

laxmi sunrise bank

चालू आर्थिक वर्ष सकिन अब सात दिन मात्र बाँकी छ। तर, सरकारले लिएको पूँजीगत खर्चको लक्ष्यमा पुग्ने छाँट भने यसपटक पनि देखिएको छैन ।

वर्षमा दुईदेखि तीन पटकसम्म अर्थमन्त्री परिवर्तन भइरहेको अवस्थामा खर्च गर्ने ठोस रणनीति नल्याउँदा चालू खर्चको तुलनामा पूँजीगत खर्चमा सुधार हुन नसकेको हो ।

महालेखा नियन्त्रकको कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्यांक  अनुसार हालसम्म पूँजीगततर्फ १ खर्ब ५३ अर्ब २४ करोड रुपैयाँ खर्च भएको छ । सरकारले चालू आर्थिक वर्षमा पूँजीगतर्फ ३ खर्ब २ अर्ब रुपैयाँ छुट्याएको छ । जुन चालू पूँजीगत खर्चको तुलनामा खर्च चाहिं ५०.९८ प्रतिशत मात्र हो ।

गत आवको खर्चसँग तुलना गर्दा पनि यो वर्षको पूँजीगत खर्च निकै न्यून छ । गत वर्ष असार २१ सम्ममा पूँजीगत खर्च १ खर्ब ८० अर्ब रुपैयाँ हाराहारीमा थियो । यस हिसाबले रकमका आधारमा हेर्दा यो वर्ष २९ अर्ब रुपैयाँ खर्च कम भएको छ । गत वर्ष पूँजीगत बजेटमा ३ खर्ब ८० अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्म आउँदा पूँजीगत खर्च २ खर्ब ३३ अर्ब ६९ करोड पुगेको थियो, जुन वार्षिक लक्ष्यको ६१.४४ प्रतिशत हो । अहिलेको पूँजीगत खर्चको अवस्थालाई हेर्दा यो वर्ष पूँजीगत बजेट खर्च २ खर्ब रुपैयाँभन्दा माथि जानसक्ने देखिदैन। गत वर्षको चालू आवमा पूँजीगत बजेट ७८ अर्ब रुपैयाँ कम विनियोजन भएको छ ।

सरकारले बजेटमा ११ खर्ब ४१ अर्ब रुपैयाँ चालु खर्च गर्ने लक्ष्य लिएको थियो । असार २३ गतेसम्ममा ९ खर्ब १५ अर्ब रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको ८०.२२प्रतिशत हो । वर्षका पछिल्ला दिनमा चालू खर्च पनि धेरै हुने गरेको छ । अहिलेको चालु खर्चको अवस्थालाई हेर्दा आगामी सातासम्म करिब लक्ष्यको ८५ प्रतिशतभन्दा माथि पुग्ने अनुमान गर्न सकिन्छ । 

यस्तै, वित्तीय व्यवस्थापनमा राखेको बजेट पनि चालू खर्चको हाराहारीमा खर्चको तथ्यांकमा देखिन्छ। यो वर्ष ३ खर्ब ७ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनका लागि विनियोजन भएको थियो । त्यसमध्ये असार २३ गतेसम्ममा २ खर्ब २८ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यो कुल लक्ष्यको ७४.२९ प्रतिशत हो ।

सरकारको समग्र बजेट खर्चलाई हेर्दा कमजोरी पूँजीगत बजेटमा मात्र देखिन्छ । पूर्व अर्थ सचिव गोपिनाथ मैनालीले खर्च गर्ने रणनीति नहुँदा पूँजीगत खर्च लक्ष्यसम्म नपुगेको बताए । उनले भने,‘ बजेटपछि साउनदेखि नै खर्च गर्ने र खर्चलाई पनि कार्यविधि रणनीति परियोजनावद्ध ढंगले खर्च गर्ने प्रणाली नहुँदा अहिलेको समस्या देखिएको हो ।’

पूँजीगत खर्च बढाउनकै लागि सरकारले असारमा एकैपटक विकासको रणनीति देखाउने गरेको उनको भनाइ छ । उनले भने,‘ पूँजीगत खर्चको आधासम्म पनि पुगेका हुँदैनौं अनि हतार हतार असारमा जे जे गर्नुपर्छ गरिदिने र पूँजीगत खर्च बढाउने रणनीति लिइन्छ,यो एउटा मनोविज्ञान नै बन्यो ।’

वास्तविक योजनाका क्षेत्रमा बजेट छुट्यार खर्च गर्ने हो भने पूँजीगत खर्च बढाउन सकिने मैनालीको भनाइ छ । उनले भने,‘ जुनसुकै अर्थमन्त्री आए पनि आउने समस्या यही हो, अबण्डामा रकम राख्ने, नामै नभएका आयोजनामा बजेट बाँड्दा अन्त्यमा आउने नतिजा यस्तै हो ।’

अर्थमन्त्रालयका सूचना अधिकारी उत्तर कुमार खत्रीले पूँजीगत खर्च लक्ष्यसम्म पुग्न नसक्नु नियमित प्रक्रिया भएको बताए । उनले भने,‘ यो अहिले यो नियमित प्रक्रिया जस्तै भएको छ, तर अझै केहि समय बाँकी भएकाले केहि प्रतिशत अझ बढ्न सक्छ ।’ 

चालू आवको बजेट पूर्व अर्थमन्त्री प्रकाशशरण महतले ल्याएका थिए । वर्षका बीचमा फेरि अर्थमन्त्रीका रुपमा वर्षमान पुन आएका छन् । नयाँ मन्त्रीका रुपमा पुन आउँदा अन्य मन्त्रालयमा पनि नयाँ मन्त्री आएका थिए । मन्त्री फेरिने बित्तिकै सचिव र अन्य आयोजना प्रमुखहरु पनि फेरिने हुँदा सरकारले गर्ने खर्च सन्तोषजनक हुन नसकेको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved