
संघीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ बजेबाट सुरु हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका हुन्। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अधिवेशनको प्रारम्भिक बैठकमा राष्ट्रपतिको कार्यालयबाट आएको पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिने कार्यक्रम रहेको छ।
बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० अनुसार अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने प्रक्रिया अगाडि बढाइनेछ। पहिलो दिन भएकाले विभिन्न दलका नेताहरूलाई मन्तव्य व्यक्त गर्न पनि समय दिइनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने तय भएको छ। त्यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१' प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
संसदको हिउँदे अधिवेशन चैत १८ मा अन्त्य भएको थियो। संविधानअनुसार वर्षको पहिलो अधिवेशनपछि राष्ट्रपतिले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ। वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने र वैशाख २८ देखि प्रि-बजेट छलफल सुरु हुने तयारी संसद् सचिवालयले जनाएको छ। जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिने भएकाले यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिइएको हो।
यस अधिवेशनमा संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने तयारी समेत गरिएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ।