
सर्बोच्च अदालतले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रक्रिया पुर्याएर लाइसेन्स दिन बिमा समितिको नाममा आदेश दिएको छ। सर्वोच्चको आदेशसंगै महालक्ष्मी लाइफलाई तोकिएको चुक्ता पूँजी कायम गरेर सञ्चालनमा आउन बाटो खुलेको छ ।
तोकिएको समयमा चुक्ता पूँजी पुर्याउन नसकेपछि महालक्ष्मी लाइफले पूँजी बृद्धिका लागि थप ४५ दिनको समय उपलब्ध गराउन बीमा समिति र अर्थ मन्त्रालयलाई अनुरोध गरेको थियो। तर बिमा समितिले तोकिएको समयभित्रमा पूँजी बृद्धि नगरे इजाजतपत्र खारेज हुने भन्दै थप समय उपलब्ध गराएको थिएन।
सोहि कारण महालक्ष्मी लाइफले आफुले पुंजी वृद्धिको लागि थप समय पाउनु पर्ने र पुंजी वृद्धिपछि संचालन अनुमति पनि पाउनु पर्ने माग सहित बिमा समिति र अर्थ मन्त्रालयलाई बिपक्षी बनाई सर्वोच्च अदालतमा रिटदायर गरेको थियो।
बीमा समितिले बिनाकारण व्यवसाय सञ्चालन अनुमति नदिएको भन्दै महालक्ष्मी इन्स्योरेन्सका तर्फबाट मनोरञ्जन रमण शर्माले २०७४ असोज २७ गते सर्बोच्चमा अर्थ मन्त्रालय र बीमा समितिलार्इ विपक्षी बनाएर रिट दायर गरेका थिए।
सर्वोच्च अदालतले बिहिबार मुद्दाको फैसला गर्दै महालक्ष्मी लाइफको पक्षमा फैसला सुनाएको हो। न्यायाधिशद्वय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजालासले चुक्त्ता पूँजी कायम नगरेको कारणले सञ्चालनमा हुनबाट नरोक्न र कम्पनीलाई प्रक्रिया पुर्याएर लाइसेन्स दिन आदेश दिएको हो। यसै मुद्दामा सर्बोच्चले गत कात्तिक अन्तिम साता महालक्ष्मी लाइफ इन्स्योरेन्सको इजाजतपत्र खारेज नगर्न बीमा समितिलाई अन्तरिम आदेश दिएको थियो।
हाल प्रतिनिधिसभाका सभामुख रहेका कृष्ण बहादुर महरा अर्थमन्त्री रहंदा चालु आर्थिक बर्षको सुरुवातमा नै १० कम्पनीले जीवन बिमा संचालनको अनुमति पाएका थिए। संचालन अनुमति पाएका अन्य ९ कम्पनीले कारोबार संचालन गरेपनि चुक्ता पुंजी देखाएर बिमा समितिले महालक्ष्मीलाई संचालन अनुमति दिएको थिएन।
करिब एक बर्षसम्मको पर्खाईपछी अन्तत: महालक्ष्मी लाइफलाई कारोबार संचालन गर्ने बाटो खुला भएको छ। महालक्ष्मीमा महालक्ष्मी बिकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, मनोरञ्जन रमण शर्मा, मोहन राज जोशी, दिपकराज काफ्ले, उमेश लाल श्रेष्ठ, रवि कुमार टिवडेवाल र तारा चन्द्र खेतान लगायत ५५ जना संस्थापकहरु रहेका छन।
महालक्ष्मी लाइफ इन्स्योरेन्समा महालक्ष्मी बिकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, मनोरञ्जन रमण शर्मा, मोहन राज जोशी, दिपकराज काफ्ले, उमेश लाल श्रेष्ठ, रवि कुमार टिवडेवाल र तारा चन्द्र खेतान लगायत ५५ जना संस्थापकहरु रहेका छन् ।