अध्यक्ष चापागाईको 'पपुलिष्ट' मर्जर नीतिमा व्यवसायिक घरानाको 'इगो' बाधक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 16, 2019 | 01:23:51 AM मा प्रकाशित

बीमा समिति स्थापनाको ५० बर्ष पुरा गरि ५१ औं बर्षमा प्रवेश गरेको छ। यहि अवसरमा समितिले अर्थमन्त्री ड़ा युबराज खतिवडालाई प्रमुख अतिथि बनाएर आफ्नो ५१ औं बार्षिकोत्सब कार्यक्रम मनाएको छ। 

कार्यक्रममा सम्बोधन गर्ने क्रममा अर्थमन्त्री खतिवडाले बीमा कम्पनी बिस्तारसंगै मर्जरको कुरा आएको भन्दै मर्जरको अवस्था आउनलाई पहिले नै लाइसेन्स रोक्ने काम नभएको बताए। 

गत आर्थिक बर्ष १० प्रतिशत रहेको बीमा बजार यो बर्ष ९ महिनामै ८ प्रतिशतले बढेर १८ प्रतिशत पुगेको सन्दर्भ उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले अहिलेनै बीमा कम्पनीको मर्जर आवश्यक नरहेको आशय व्यक्त गरे। केहि बीमा कम्पनी भर्खरै मात्र संचालनमा आएकाले उनीहरुले आफ्नो पुंजी अनुसार केहि समय काम गर्न पाउनुपर्ने अर्थमन्त्री खतिवडाले भने। 

बीमा समितिले ल्याएको मर्जर नीति समयअनुकुल नभएको अर्थमन्त्री खतिवडाको आशय देखिन्थ्यो। अर्थमन्त्री खतिवडाले स्टेजबाट मर्जरको बारे बोलिरहँदा कार्यक्रममा उपस्थित बिभिन्न बीमा कम्पनीका अध्यक्ष तथा सीईओहरुले समितिका अध्यक्ष चिरिन्जीबी चापागाईको प्रयास असफल भएको टिप्पणी गरे। 

बीमासंग सरोकार राख्नेहरुले अध्यक्ष चापागाईले नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्ने चाहनाले मर्जर नीति ल्याएको तर मर्जर असम्भव भएको टिप्पणी गरे। सरकारले शक्ति प्रयोग गरेर गोलाप्रथाबाट मर्जर गराए मात्र मर्जर हुने नत्र अहिलेको अवस्थामा चापागाईको प्रयास असम्भव भएको टिप्पणी गरे। 

बिजपाटीका रिपोर्टरले बीमा कम्पनीबीच मर्जर असम्भब कसरि भन्नेबारे राखेको जिज्ञासामा सरोकारवालाले संचालक तथा व्यवसायिक घरानाको 'इगो' कै कारण मर्जर असम्भब भएको प्रतिकृया दिए। 

के मर्जर असम्भब छ ?

नेपालमा हाल १९ वटा जीवन बीमा कम्पनी संचालनमा छन। ती मध्ये करिब डेढ बर्षअघि मात्रै १० वटा नयाँ कम्पनी संचालनमा आएका छन। नयाँ कम्पनीहरु जबसम्म नकारात्मक ग्रोथमा जान्दैनन वा ५ बर्षसम्म लाभांश दिन सक्दैनन तबसम्म उनीहरु मर्जरमा जाँदै नजाने बीमा बिज्ञहरुको दाबी छ। 

त्यस्तै संचालनमा रहेका पुराना कम्पनीहरु कुनै न कुनै व्यवसायिक घरानाले संचालन गरेका छन। व्यवसायिक घरानाको आपसी 'घमण्ड' कै कारणपनि संचालनमा रहेका पुराना कम्पनीबीच मर्जर असम्भब छ। 

जीवन बीमा कम्पनीमै कम्जोर मानिने गुराँस लाइफ इन्स्योरेन्स जस्तो संस्थाले हकप्रद बिक्रि गरेर भएपनि चुक्तापुंजी बढाउने तर मर्जरमा नजाने नीति लिएको छ। त्यसमाथि गुराँस लाइफमा दुगड ग्रुपको लगानी रहेको छ। प्रतिस्पर्धी अन्य ब्यवसायिक घरानासंगको इगोले पनि दुगड ग्रुपले गुराँस लाइफलाई अर्को संस्थासंग मर्जरमा जाने सम्भावना न्यून छ। 

त्यस्तै एभरेष्ट बैंकसंग मर्जर भांडीएको लक्ष्मी बैंकका 'मालिक' खेतानको लगानी रहेको प्राइम लाइफ मर्जरमा जान असम्भब देखिन्छ। बैंकमा होस् वा बीमा कम्पनीमा, खेतान आफ्नो बर्चस्व चाहने भएकाले पनि प्राइमले मर्ज गर्ने वा अरुसंग गाभिने सम्भावना छैन। 

नेपाल लाइफ र सुर्य लाइफमा संघाई र बिशाल ग्रुपको लगानी छ। आफ्नै लगानीका दुई कम्पनी मर्ज गराएपनि अन्य कम्पनीसंग मर्जरमा जाने वा अरुलाई प्राप्ति गर्ने कुरा यो ग्रुपले स्वीकार गर्ने देखिंदैन। 

नेशनल लाइफमा बेलायती कम्पनीको लगानी छ। आफ्नै क्षमतामा अघि बढेको यो कम्पनी मर्जरमा जान वा अरुलाई प्राप्ति गर्नलाई बेलायती कम्पनीको अनुमति लिनुपर्ने हुन्छ। त्यसैले पनि नेशनल लाइफ मर्जरमा जाने बिषय सम्भव देखिदैन। 

कुनै पनि यकिन समुहको लगानी नरहेको एशियन लाइफ इन्स्योरेन्सले पाए अरुसंग मर्जरमा जान सक्छ तर आ आफ्नो व्यवसायिक स्वार्थ बोकेका अन्य व्यवसायिक घरानाका कम्पनीसंग मर्जरमा जाँदा यसका संस्थापक सेयरधनीले आफ्नो अस्तित्व नरहने महसुस गर्न सक्छन। यसले पनि प्राइमलाई समेत मर्जरमा जान सहज देखिदैन। 

त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) भारतीय कम्पनी हो भने मेट लाइफ अमेरिकन कम्पनी हो। यी दुवै कम्पनी मर्जमा जाने भनेको नेपालमा भएको एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टड बैंक मर्जमा जानु जस्तै हो त्यसैले पनि दुवै कम्पनीको अन्य कम्पनीसंग मर्ज हुने वा अरुलाई प्राप्ति गर्ने सम्भावना असम्भव जस्तै देखिन्छ । 

एकातर्फ भर्खरै आफ्नै हातले १० वटा नयाँ जीवन बीमा कम्पनीको लाइसेन्स दिएको अवस्थामा र पुराना कम्पनीमा व्यवसायिक घरानाको इगो हाबी भएको अवस्थामा कुनै निश्चित चुक्तापुंजी पुर्याउने बिकल्प नै नदिई समितिका अध्यक्ष चापागाईले मर्जर नीति किन ल्याए भन्ने धेरैको प्रश्न रहेको छ। 

बैंकलाई बीमा गर्न दिएर बीमा बजार बढेको देखाएर प्राधिकरणको अध्यक्ष बन्ने दाउमा रहेका चापागाईले मर्जरको अस्त्र फालेर अर्थमन्त्री खतिवडाको बिश्वास जित्नलाई मात्र मर्जरको नीति लिएको बजारको बुझाई छ।  माथि उल्लेख बीमा कम्पनीबीच मर्जरको सम्भावना हेर्दा कुनै पनि कम्पनी तत्काल मर्जमा जाने सम्भावना छैन त्यसो भए मर्जर नीति कसको लागि किन ल्यायो ? यो सोधनिय प्रश्न बनेको छ।  


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved