नेपालको वीमा व्यवसायमै सबै भन्दा बढी आयकर दाखिला गरेकाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी Nepal Life Insurance Company Limited सम्मानित भएको छ। आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभागले नेपाल लाइफलाई कदरस्वरुप सम्मान गरेको हो ।
प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई सम्मानपत्र प्रदान गरेका हुन्।
सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत झाले नेपालको बीमा व्यवसायमा सबैभन्दा अगाडि बढ्दै सबैभन्दा बढी राजस्व दाखिला गरी सम्मानित हुने अवसर पाएकोमा अत्यन्तै खुशी तथा गौरव महसुस भएको बताए।
‘यो सम्मानले कम्पनीलाई अझ जिम्मेवार बनाएको तथा नेपालको बीमा व्यवसाय अझ परिस्कृत गर्दै सबै जनताका सामु पुगी सेवा प्रदान गर्दै अगाडि बढ्न र नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन हौसला मिलेको छ’ झाले भने।
जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रहेको छ भने लगानी ७८ अर्ब ६८ करोड रुपैयाँ छ।
त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको पहिलो चार महिनामा जम्मा ९ अर्ब ६२ करोड बीमा शुल्क संकलन गरेको छ। १ लाख ३५ हजार ६ सय १० प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९४ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६९ हजार ८ सय ८६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।