
आईपिओ निष्काशनको तयारीमा रहेको अजोड इन्स्योरेन्सले साढे १६ करोड बीमा शुल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले १६ करोड ७७ लाख ३९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। त्यस्तै, यस अवधिसम्ममा अजोड इन्स्योरेन्सले दुई करोड ३१ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले ५२ हजार ९५४ वटा बीमालेख जारी गरेको छ । कम्पनीले यस अवधिमा ११ करोड तीन लाख दावी भुक्तानी गरेको छ भने कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम ३ करोड ५७ लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष २ करोड ७९ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, कम्पनीको बीमा कोषमा चार करोड २१ लाख रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशनको तयारी गरेको छ । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्व, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व हुनेछ ।
इन्स्योरेन्सले निष्काशन गर्ने आईपिओको प्रत्याभूति ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटलले गर्ने छन् । दुवै क्यापिटलले निष्काशन हुने आईपिओको समान ५०-५० प्रतिशत प्रत्याभूति गर्ने भएका हुन् । कम्पनीले निष्काशन गर्ने आईपिओ बिक्रि नभएमा यी दुई क्यापिटलले आधा आधा खरिद गर्ने छन् ।