
बीमा समितिले शाखारहित घुम्ती बीमा सेवासम्बन्धी मार्गदर्शन, २०७६ जारी गरेको छ । समितिले सबै जनतामा सहज र सरल ढगंले न्यूनतम लागतमा घरदैलोमा नै पुगी विभिन्न माध्यमबाट बीमा सुविधा पुर्याउने उद्देश्यका साथ बीमा ऐन, २०४९ को दफा ८ (घ२) ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिका जारी गरेको हो ।
समितिले जारी गरेको यस निर्देशिका बमोजिम बीमा कम्पनीहरुले बीमितको घर दैलोमा नै पुगी बीमा पोलिसी बिक्रि गर्न पाउने छन् । शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शनमा बीमा कम्पनीहरुले ५ लाख रुपैयाँ बीमाङ्कको बीमा गर्न पाउने व्यवस्था रहेको छ ।
घुम्ती बीमा कार्यक्रमको औपचारिक उद्धघाटन जनकपुरबाट गरिएको हो । बीमा समितिको आयोजनामा नेपाल बीमक संघ, जीवन बीमक संघ, नेपाल लाइफ इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्सको सहकार्यमा घुम्ती बीमा सेवाको औपचारिक उद्धघाटन गरिएको थियो । समितिले माघ १ गतेदेखि सबै बीमा कम्पनीहरुलाई घुम्ती बीमा सेवा सञ्चालन गर्न निर्देशन दिएको बीमा समितिको सूचना अधिकारी निर्मल अधिकारीले बताए ।
उनकाअनुसार अहिलेसम्म सिद्धार्थ इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सले औपचारिक रुपमा घुम्ती बीमा सेवा सञ्चालन गरेका छन। अरु कम्पनीहरुले पनि कार्यक्रम गर्दै छन् र कतिपय कम्पनी सेवा सञ्चालन गर्ने तयारीमा छन् । कति कम्पनीले यो सेवा सञ्चालन गरे भन्ने तथ्याङ्क भने आइसकेको छैन। “सबै कम्पनीका सिइओहरुलाई छलफलका लागि डाकेर महिनाको एक पटक घुम्ती बीमा सेवा सञ्चालन गर्न निर्देशन दिएका छौँ ।” सूचना अधिकारि अधिकारिले बिजपाटीलाई बताए।
आइएमई जनरल इन्स्योरेन्सले शाखारहित घुम्ती बीमा सेवा मार्गदर्शन अनुरुप पौष महिनादेखि नै घुम्ती बीमा सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले एक मोबाइल भ्यान्मार्फत घुम्ती बीमा सेवाको शुरुवात गरेको थियो । कम्पनीले यो सेवा शुरु गरेको लगभग दुई महिना भईसकेको छ । आइएमई जनरलले हालसम्म दुई वटा जिल्लामा घुम्ती बीमा कार्यक्रम सञ्चालनमा ल्याईसकेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त वादे श्रेष्ठले बर्दिबास र सोलुखुम्बु जिल्लामा घुम्ती बीमा कार्यक्रम पुर्याएको बताए। “बीमाको पहुँचमा नआएका नागरिकहरुलाई बीमाको दायरामा समेट्ने उद्देश्यका साथ यो कार्यक्रम अघि ल्याईएको हो । हामीले समितिले जारी गरेको निर्देशिका बमोजिम कार्यक्रमको शुरु गरि सकेका छौँ ।” शुरुवातको चरणमा खासै प्रभावकारी नदेखिए पनि आगामी दिनमा यस कार्यक्रमको प्रभाव राम्रो रहने अपेक्षा लिएको श्रेष्ठले बताए ।
त्यस्तै, घुम्ती बीमा सेवा सञ्चालनमा ल्याएको अर्को कम्पनी हो सिद्धार्थ इन्स्योरेन्स । सिद्धार्थ इन्स्योरेन्सले पनि पौष महिना मै घुम्ती बीमा सेवाको शुरुवात गरेको थियो । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँई स्वयमले सो कार्यक्रमको उद्धघाटन गरेका थिए ।
शाखारहित घुम्ती बीमा निर्देशिकामा यस्तो छ व्यवस्था
शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी निर्देशिका मंसिर २८ गते जारी भएको हो। यस निर्देशिकामा कम्पनीहरुलाई सावधिक जीवन बीमा, म्यादी जीवन बीमा, कृषि बीमा, लघुबीमा, दुर्घटना बीमा र ५० लाख रुपैयाँ सम्मको घर बीमा गर्ने व्यवश्था रहेको छ । कम्पनीहरुले बीमा समितिबाट स्वीकृत भएका बीमालेख बिक्रि गर्नु पर्ने व्यवस्था रहेको छ ।
जीवन बीमा कम्पनीले घुम्ती बीमा सेवा सञ्चालन गर्दा एकल बीमाशुल्क भएको जीवन बीमा, वैदेशिक रोजगारी म्यादी जीवन बीमा र ५ लाख रुपैयाँ बीमाङ्क भन्दा बढीको कुनै पनि जीवन बीमा गर्न पाउने छैनन् ।
त्यस्तै, घुम्ती बीमा सेवा सञ्चालन गर्ने निर्जीवन बीमा कम्पनीले सामुन्द्रिक बीमा, हवाई बीमा, इन्जिनियरिङ बीमा र मोटर बीमा गर्न नपाउने व्यवस्था रहेको छ ।
कम्पनीहरुले महानगरपालिका वा उपमहानगरपालिका भित्र घुम्ती बीमा सेवा उपलब्ध गराउन पाउने छैनन् । निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमा गर्नका लागि तोकिएका कार्य क्षेत्रमा अनिवार्य रुपमा घुम्ती बीमा सेवा सञ्चालन गर्नु पर्ने छ । जीवन बीमा कम्पनीले भने महानगरपालिका वा उपमहानगरपालिका भित्र रहेका सीमावर्ती वडाहरुमा घुम्ती बीमा सेवा उपलब्ध गर्न पाउने व्यवस्था रहेको छ ।
साथै, घुम्ती बीमा सेवा सञ्चालन गर्ने कम्पनीहरुले घुम्ती बीमा सेवा सञ्चालन गर्नका लागि संलग्न भएका कर्मचारीहरुको दुर्घटना बीमा गर्नु पर्ने हुन्छ।
घुम्ती बीमा सेवा सञ्चालन गर्नका लागि प्रयोग गरिएका सवारी साधन तथा नगद सहित अन्य सम्पत्तिको बीमा गरेको हुनु पर्नेछ । कम्पनीहरुले घुम्ती बीमा कार्यक्रम संचालन गर्दा सम्बन्धित बीमक संघ वा जीवन बीमक संघ वा दुवैसँग समन्वयन गरी संचालन गर्न सक्ने व्यवस्था समेत रहेको छ । एक वा एक भन्दा बढी कम्पनीहरु एक आपसमा समन्वयन गरेर पनि घुम्ती बीमा सेवा सञ्चालन गर्न सक्ने छन् । घुम्ती बीमा सञ्चालन गरेको कम्पनीहरुले घुम्ती बीमा सेवाको माध्यमबाट बिक्री गरेको बीमाको त्रैमासिक विवरण समिति समक्ष उपलब्ध गराउनु पर्ने छ ।
बीमाका बिज्ञ भन्छन; घुम्ती बीमा अब्यव्हारिक
समितिले बीमा ऐन, २०४९ को दफा ८ (घ२) ले दिएको अधिकार प्रयोग गरी शाखारहित घुम्ती बीमा सेवा निर्देशिका जारी गरे पनि बीमा व्यवसाय अभिकर्तामा आधारित पेशा भएकाले यसको प्रभावकारीतालाई लिएर प्रश्न उठेको छ। एक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारीले बीमा व्यवसाय अभिकर्तामा आधारित व्यवसाय भएकाले अभिकर्ता बिना नै बीमा गर्ने वातावरणले बीमा क्षेत्रमा समस्या आउन सक्ने बताए।
घुम्ती बीमा घुम्ती बैकिङ जस्तो प्रभावकारी नहुने उनको भनाई छ । बीमा एजेन्टमा आधारित व्यवसाय भएकाले घुम्ती बीमा व्यहारिक नहुने तर यो सेवा बैकका लागि सहि हुने उनले बताए। “बीमा कम्पनीका कर्मचारीहरु गाडीमा बसेर बीमा पोलिसी बिक्री गर्न असम्भव छ, यो व्यवसाय नै एजेन्टमा आधारित व्यवसाय हो, बीमा अभिकर्ता स्वयमले देशका कुना काप्चामा पुगेर पहिलेदेखि नै घुम्ती बीमा सेवा प्रदान गरिरहेका छन्।”उनले भने।
नेपाल राष्ट्र बैंकका कर्मचारी भएकाले बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईमा बैंकिङ सम्बन्धमा ह्यांग रहेकोले बेला बेला यस्तो निर्देशन आउने गरेको अर्का एक बीमा कम्पनीका सीईओले आरोप लगाए। "राष्ट्र बैंककै कपि गरेर बिमामा पनि चुक्तापुंजी वृद्धिको नीति आयो, त्यसपछि कुलिंग पिरियड, त्यसपछि मर्जरका कुरा, अहिले घुम्ती बीमा" उनि भन्छन, "बैंकले पसल राखझैं ठाउँ ठाउँमा आफ्नो शाखा राखेर, चोक चोकमा काउन्टर राखेर काम गर्न मिल्छ सुहाउँछ र व्यवहारिक पनि हुन्छ तर बीमा अभिकर्तामा आधारित व्यवसाय हो, अभिकर्तालाई नै हटाएर घुम्ती बीमा भन्दै सिधै सेवाग्राहीसँग पुग्दा बीमा व्यवसायमा व्यवहारिक हुदैन, घुम्ती बीमाबाट आएका सेवाग्राहीलाई भोलि दाबी भुक्तानी लगायतका सेवा लिनलाई कसले हेर्छ ?"