पर्वतमा स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको छ । हालसम्म सो कार्यक्रम देशका ५२ जिल्लामा कार्यान्वयनमा आइसकेको छ ।
सोमबार जिल्लाका सातवटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायको सहभागितामा सदस्यता दर्ताको शुरु गरेको हो । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेललाई ‘स्वास्थ्य बीमा सदस्यता परिचयपत्र’ वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
कार्यक्रम गण्डकी प्रदेशका अन्य ६ जिल्लामा लागू भइसकेको छ । जिल्लाका ६१ वडामा एक एक जनाका दरले सहयोगी नियुक्त गरिएको हो ।
स्वास्थ्य बीमा गर्नका लागि पाँचजनासम्मको परिवारले वार्षिक तीन हजार ५०० र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप सात सय बीमा रकम तिर्नुपर्ने व्यवस्था रहेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जानकारी दिए । त्यस्तै पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक एक लाख र पाँचजनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य २० हजार थप गरी दुई लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्थासमेत रहेको छ ।