एउटै अभिकर्ताका दर्जन बीमा पोलिसी, ऋण लिएर प्रिमियम

विजया बास्कोटा

विजया बास्कोटा

Mar 03, 2020 | 09:39:59 PM मा प्रकाशित

laxmi  sunrise bank

भक्तपुर घर भएकी माया खड्का (नाम परिवर्तन) ले बीमा अभिकर्ताको इजाजत पत्र लिएर पेशामा लागेको १ वर्ष पूरा भयो । साथीको सल्लाहमा नेपाल लाइफ इन्स्योरेन्सले सञ्चालन गरेको बीमा अभिकर्ताको आधारभुत तालिममा सहभागी हुन पुगेकी खड्का छोटो समयमा नै कम्पनीले दिएको टार्गेटलाई पछ्याउँदै एजेन्सी म्यानेजर बन्न सफल भईन् । कम्पनीले दिएको टार्गेट पूरा गरि उनले अहिले मासिक रुपमा कम्पनीले दिने सेवा सुविधा समेत लिदैँ आएकी छिन् । 

कम्पनीले दिएको टार्गेट त पूरा गरिन् । तर, त्यो टार्गेट पुरा गर्नको लागि उनले आफ्ना आफन्तका नाममा आफैले पहिलो प्रीमियम हालेर बीमा गरिदिईन् । बीमितको पहिलो प्रीमियम आफै हालेर पोलिसी खरिद गरेकी उनले दोस्रो प्रीमियम बुझाउने बेला कटि सक्दा पनि त्यो रकम अझै हात पार्न सकेकी छैनन् । त्यस्तै, उनले कतिपय बीमा त आफ्नै नाममा खरिद गरिन् । कम्पनीले दिएको टार्गेट पुरा गर्नकै लागि आफैले आफ्नो नाममा धेरै पोलिसी किनेको उनको भनाई छ । 

यो घटना त एउटा उदाहरण मात्रै हो । माया जस्तै अन्य धेरै अभिकर्ताहरुले आफैले आफ्नो नाममा धेरै पोलिसीहरु खरिद गर्ने गरेको पाईएको छ ।  कम्पनीले दिएको टार्गेट पुरा गर्न साथै कमिशनको लोभमा बीमा अभिकर्ताहरुले आफ्नै नाममा एक भन्दा बढी बीमा पोलिसीहरु खरिद गर्ने गरेको पाईएको हो ।  

विशेषत भर्खरै बीमा कम्पनीमा अभिकर्ता बन्न पुगेका अभिकर्ताहरुले यस्तो गर्ने गरेको पाईएको हो । सिमित टार्गेट पूरा गरेपछि बीमा कम्पनीले दिने सेवा सुविधाको लोभका लागि अभिकर्ताहरुले यो बाटो रोजेका हुन् । 

अभिकर्ता भईसकेपछि जीवन बीमा कम्पनीहरुले टार्गेटको अवसर दिएका हुन्छन् । सेवा सुविधा पाउँनका लागि कम्पनीले अभिकर्तालाई दिने टार्गेट भने कम्पनी अनुसार फरक फरक हुन्छ । कम्पनीहरुले सेल्फ कोडमा निश्चित प्रिमियम संकलन गर्नेदेखि आफ्नो टिममा अभिकर्ता बनाउनु पर्ने प्रावधान राखेका हुन्छन् । कम्पनीले दिएको टार्गेट पुरा गरेपछि अभिकर्ताहरुले आफुले बिक्रि गरेको बीमा पोलिसीको कमिशनका साथमा कम्पनीले दिने सेवा सुविधा पनि पाउने गर्छन् । 

आम्दानीको स्रोत हेरी अभिकर्ताले एक भन्दा बढी बीमा पोलिसीहरु खरिद गर्न पाउने प्रावधान रहेको एक बीमा कम्पनीका एजेन्सी म्यानेजरले बताए । कम्पनीले दिएको टार्गेटलाई पुरा गर्नका लागि आफैले आफ्नो नाममा एक भन्दा बढी बीमा योजनाहरु खरिद गर्ने प्रचलन रहेको उनले बताए । सबै अभिकर्ताहरुले नगरे पनि केही अभिकर्ताहरुले भने आम्दनीको लोभमा यस्तो कार्य गर्ने उनको भनाई छ । 

बीमा अभिकर्ताको लाइसेन्स हात पारे पछि बीमा प्रस्ताव लिएर अभिकर्ताहरु आफ्ना आफ्न्त कहाँ पुग्छन् । तालिममा पनि त्यहि सिकाईन्छ । शुरुमा बीमा प्रस्ताव लिएर आफन्त कहाँ नै जाने । जसले विश्वास गर्छ उसै कहाँ पुग्ने । अभिकर्ताले जे सिक्यो त्यहि कुरालाई व्यवहारमा उतार्न थाल्दछन् । बीमा अभिकर्ताहरुले आफन्त, साथिभाई, नातागोताको नाममा बीमा पोेलिसी खरिद गर्ने तर प्रिमियम भने आफै तिर्ने गरेको पाईन्छ । 

अभिकर्ताले आफ्ना साथिभाई, नातागोतालाई बीमाको प्रस्ताव राख्ने र उनीहरुले हुन्छ भनेपछि बीमाको प्रिमियम भने आफ्नै तिर्ने प्रवृति बढेको हो। कतिपय बीमा अभिकर्ताहरुले त ऋण नै खोजेर बीमाको प्रीमियम तिर्ने गरेको पाईन्छ । प्रथम बीमा शुल्क आफै तिरि बीमा गराएका अभिकर्ताले बीमा नविकरण गर्ने बेलासम्म पनि त्यो रकम नपाउने गुनासो पनि रहेको पाईन्छ ।  

अभिकर्ताको कर्तव्य के ? 

अभिकर्ता बीमित र बीमकको बीचमा मध्यस्थकर्ताको रुपमा काम गर्ने व्यक्ति हुन् । बीमा समितिबाट अभिकर्ता पेशाको इजाजत पत्र पाएका अभिकर्ताहरुले बजारमा गई बीमा पोलिसी बिक्रि गर्नु पर्दछ । अभिकर्तालाई उनीहरुले बिक्रि गरेको बीमा पोलिसीको निश्चित कमिशन पाउने व्यवस्था रहेको छ । बीमा समितिबाट इजाजत प्राप्त गरेका बीमा अभिकर्ताहरुले बजारमा गई बीमा फारम भराउने, बीमितलाई आवश्यक परेको खण्डमा सल्लाहा दिने लगायतका काम गर्नु पर्ने हुन्छ ।  

बीमा पहुँचको आँकडामा प्रश्न 

 बीमा समितिले पछिल्लो समय बीमाको पहुँच बढेको दावी गर्दैै आएको छ । समितिले बीमाको पहुँचमा २२ प्रतिशत मानिस समेटिएको बताउँदै आएको छ । आगामी असारसम्ममा बीमाको पहुँच ३३ प्रतिशत पुग्ने बीमा समितिको अनुमान छ  । अभिकर्ताले गर्ने यस्तो घटनाले बीमाको दायरामा आएको जनसंख्या त बढी देखाउला । तर, अभिकर्ता स्वमले नै आफ्नै नाममा एक भन्दा बढी बीमा पोलिसी खरिद गर्ने प्रवृतिले बीमाको पहुँचमा आएका मानिसको वास्तविक तथ्याङ्क कति छ भन्ने प्रश्न उठेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved