आफ्नाको गल्तीमा आँखा चिम्लिन्छ बीमा समिति

विजया बास्कोटा

विजया बास्कोटा

Mar 04, 2020 | 02:12:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिका कर्मचारीका आफन्तहरु बीमा कम्पनीमा काम गर्दा स्वार्थ बाँझिएको पाइएको छ। कुनै पनि बीमा कम्पनीमा नियम बिपरित काम हुन् नदिने र जनताको हक अधिकारको सुरक्षा गर्ने जिम्मेवारी नियमन निकायको हुने गर्दछ। तर नियमन निकायमा कार्यरत कर्मचारीकै आफन्तबाट नियम बिपरित काम हुँदा कुनै पनि कानूनी कारबाही नभएकाले स्वार्थ बाँझिएको हो। 

बीमा समितिमा कार्यकारी निर्देशक पदमा रहेका निर्देशक तथा नियमन विभागका कानून प्रमुख दिनेश कुमार लालका नातामा भाई पर्ने राजेश लाल कर्णले शाखा प्रमुखको रुपमा कार्यरत रहंदा अभिकर्ताले पाउनुपर्ने कमिशन नियम बिपरित अपचलन गरेको पुष्टि हुँदा समेत कारबाही नहुनुले स्वार्थ बाँझिएको पुष्टि हुन्छ। 

जो कोही व्यक्तिले आफु आवद्ध भएको संघ, संस्थाको नियम विपरित काम गरेमा उक्त कम्पनीबाट बर्खास्त हुन्छ वा गल्ती बमोजिमको सजाय वा जरिवानबाट दण्डित हुन्छ । तर, यो घटनामा संलग्न भएका ती शाखा प्रमुख कर्णलाई कम्पनीले कारबाहि गरेन । कम्पनीले ती व्यक्तिलाई उल्टै  बढुवा गरेर अण्डरराइटिङ विभागमा नियुक्त गरि कम्पनीको केन्द्रिय कार्यालयमा ल्यायो।  

यदि यस्तो काम सामान्य व्यक्तिले गरेको भए बीमा समितिले कारबाहि गर्थ्यो ।  तर, ती व्यक्ति बीमा कम्पनीका नियमनकारी निकाय बीमा समितिका कर्मचारीका आफन्त थिए । समितिका कर्मचारीका आफन्त भएकै कारणले गल्ती गरिरहँदा पनि कम्पनीले गल्तिलाई वेवास्ता  गरि उल्टै बढुवा गरेर थप जिम्मेवारीका साथ् केन्द्रिय कार्यलय तान्यो। 

नियम विपरित काम गर्ने कर्मचारीलाई सजाय दिनुको सट्टा माथिल्लो पोष्टको जिम्मेवारी दिनुले आम मानिसहरुको कम्पनी प्रति हेर्ने हेराईमा नै परिवर्तन आउने देखिन्छ । 

बीमा समितिका निर्देशक तथा नियमन विभागका कानून प्रमुख दिनेश कुमार लालले आफ्नो योग्यताका आधारमा जसले जहाँ पनि जागिर गर्ने अधिकार रहेको बताए। बीमा समितिका सञ्चालक र कर्मचारीका आफन्तले बीमा कम्पनीमा जागिर खान नपाउने कानूनि व्यवस्था नभएको उनको भनाई छ।

यता, बीमा विज्ञ डा। रविन्द्र घिमिरे बीमा समितिका सञ्चालक तथा कर्मचारीका आफन्त बीमा कम्पनीमा जागिर खुवाउन नपाउने निर्देशिका ल्याउनु पर्ने बताउछन् । समितिका सञ्चालक तथा कर्मचारीका आफन्त बीमा कम्पनीमा कर्मचारीका रुपमा काम गर्ने र उनीहरुले गरेको गल्तीलाई समितिले संरक्षण दिन नमिल्ने उनको भनाई छ । ‘व्यक्तिको स्वतन्त्रताको आधारमा जहाँ पनि जागिर खान पाउने अधिकार भने रहेको हुन्छ । कुनै व्यक्तिलाई त्यो कम्पनीमा जागिर खान इच्छा लाग्यो र उ सँग आवश्यक योग्यता छ भने त्यहा निवेदन पायो’ उनले भने । 

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले उक्त घटना बारे सम्बन्धित कम्पनीका प्रमुख कार्यकारी अधिकृत र डेपुटि सिइओलाई समितिमा बोलाई घटनाको बारेमा स्पष्टिकरण मागेको बताए । कम्पनीका सिइओ र डेपुटि सिईओले उक्त घटना सामान्य रहेको र मिलाई सकेको बताएको उनको भनाई छ । जो सुकैले नियम विपरित काम गरेमा समितिले कारबाहि गर्ने उनको भनाई छ । ‘नियम विपरित काम गरेको हो भने हामी कारबाहि गर्छौ । जो कोहीले पनि नियम विपरित कारबाहि गर्छ भने उसलाई समितिले संरक्षण दिदैँन् । यदि त्यस्तो घटना पाईएमा कम्पनीलाई सचेत गराउँछौँ ।’ उनले भने । 

उनका अनुसार सम्बन्धित कम्पनीले उक्त घटनाबारे सामान्य त्रुटि हो, अहिले त्यो घटना मिलिसकेको र सो घटनामा संलग्न व्यक्तिलाई सरुवा गराएको जनाकारी दिएको छ । उक्त घटनाबारे समितिमा उजुरी आएको छैन् । यदि त्यस खालका उजुरी आएमा कम्पनीलाई सचेत गराउने उनको भनाई छ । ‘त्यस्ता खालका घटनाका बारेमा समितिमा उजुरी आएको छैन् । यदि उजुरी आएको खण्डमा समितिले छुट्टै निरीक्षण गराएर नियम विपरित काम गरेको रहेछ भने त्यो कम्पनीलाई सचेत गराउने छौँ ।’ उनले भने ।  

समितिका कर्मचारीका आफन्तले चलाउँछन् बीमा कम्पनी 

पछिल्लो समय समितिका पिउनदेखि सञ्चालक तथा निर्देशकका आफन्तले बीमा कम्पनी भरिएको चर्चा चलेको छ । अधिकांश बीमा कम्पनीमा बीमा समितिका पिउनदेखि निर्देशकसम्मका आफन्त आवद्ध रहेको पाईन्छ । समितिका अध्यक्षका आफन्त पनि बीमा कम्पनीमा कर्मचारीका रुपमा कार्यरत रहेको पाईएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईका एउटै बीमा कम्पनीमा १० जना आफन्त कार्यरत रहेको स्रोतको दावी छ । बीमा समितिका अधयक्ष्य चिरञ्जीवी चापागाँईका भाञ्जी आईएमई लाइफमा कार्यरत भएको  पाईएको छ।

त्यस्तै, बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलकी श्रीमती एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत रहेको स्रोतले जनाएको छ । समितिका निर्देशक तथा कानुन विभागका प्रमुख दिनेश कुमार लालकी श्रीमती नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत रहेको खुलेको छ । 

यी प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय यस्ता खालका घटना धेरै बीमा कम्पनीहरुमा भएको पाईन्छ । बीमा समितिका सञ्चालक तथा कर्मचारीका आफन्तले बीमा कम्पनीमा काम गर्न नपाउने व्यवस्था नरहेता पनि उनीहरुका आफन्त कार्यरत बीमा कम्पनीले गरेको गल्तीलाई समितिले कसरी हेर्ला भन्ने गम्भीर प्रश्न देखा परेको छ । समितिका सञ्चालक तथा कर्मचारीका आफन्त आवद्ध भएको बीमा कम्पनीलाई समितिले कसरी नियमन गर्छ भन्ने प्रश्नहरु खडा भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved