सांसदको दाबी : 'बीमा विधयेक जस्ताको त्यस्तै पास भए अर्थतन्त्र ध्वस्त हुन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 10:24:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले सम्पत्ति हुनेहरुले मात्रै बीमा गर्नु पर्ने बताएका छन् । अर्थसमितिमा भएको बीमा सम्बन्धि कानूनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयकको दफावार छलफलमा सांसद सुवालले बीमा सम्पत्ति हुनेका लागि मात्रै आवश्यक रहेको दाबी गरेका हुन् ।

‘बीमा त सम्पत्ति हुनेहरुले गर्ने हो । नहुुनेहरुले त के को बीमा गर्ने ? गरीबहरुले कहाँको के को बीमा गर्ने ? न सम्पत्ति छ न ज्यान छ उसको । न निर्जीवन बीमा गर्ने सम्पत्ति छ न जीवनको बीमा गर्ने सम्पत्ति छ । त्यस कारणले यो गलत भईरहेको छ । यो कहाँको काम नलाग्ने अर्थशास्त्र हाम्रो  देशमा लागू भईरहेको छ ।’ उनले भने । 

सांसद सुवालले छलफलमा प्रस्तावित विधेयकमा भएका अधिकांश दफालाई संशोधन तथा खारेज गर्नु पर्ने बताए। उनले प्रस्तावित बीमा विधेयकमा उल्लेख गरिएको प्रस्तावना मै त्रुटि रहेको दाबी गरेका छन् ।  प्रस्तावित विधेयकमा 'राज्यले नै बीमा सञ्चालन गर्ने' शब्द हरु राख्न उनले माग गरेका छन्। प्रस्तावनामा समाजवाद उन्मुख अर्थव्यवस्था अनुसार बीमा सम्बन्धि सम्पूर्ण काम राज्यले गर्ने भनेर राख्नु पर्ने उनको माग छ । 

बीमा कम्पनीहरुले गरेको काममा प्रश्न उठाउँदै सुवालले 'कुन बीमा कम्पनीले इमान्दारीपूर्वकले काम गरेको रेकर्ड छ?' भन्दै सरकारससँग जवाफ माग गरेका छन् । ‘बीमालाई  अहिलेको नयाँ अर्थशास्त्रीहरुले ठगीको विधा भनेका छन् । बीमा ठग्ने विधा हो । अब हामीले ठगीको विधालाई कानून बनाउँन खोज्दै छौँ । त्यसकारण ठगी विधालाई कानूनि बनाउँने काम गर्नु हुँदैन ।’ उनले भने । शिक्षा, खानेपानी, स्वास्थ्य, सडक, हुलाक र बीमा राज्यले नै गर्नु पर्ने उनको माग छ । 

उनले सरकारलाई प्रश्न गर्दै भनेका छन् 'यो गरीबको सरकार हो कि राणाको सरकार हो ? कि पञ्चायतको सरकार हो ? पञ्च र राणा शासनले नगरेको काम यो सरकारले गर्ने ? ' 

उनले बीमालाई व्यवसायका रुपमा हेर्नु नहुने बताएका छन् । उनी भन्छन् ‘बीमा व्यवसाय होईन् । व्यवसाय गर्नलाई उत्पादन हुनु पर्छ । सामानको करोबार हुनु पर्छ । बीमाले के उत्पादन गर्छ ? बीमामार्फत के वस्तु उत्पादन हुन्छ ?  मन परि परिभाषा गर्न मिल्छ ? व्यवसायमा सामानको खरिद बिक्रि हुन्छ ? बीमामा के खरिद बिक्रि  हुन्छ । त्यसकारण यो परिभषा नै मिल्दैन । ’ उनले प्रस्तावित विधयेकको ३ देखि दफा ३६, दफा ११ देखि दफा ४८ दफा ६२ देखि ८१ दफा १०१, १२४, १६४ दफा आवश्यक नरहेको बताएका छन् । यी दफाहलाई संसोधन गर्नु पर्ने उनको भनाई छ ।

सांसद सुवालले प्रस्तावित बीमा विधेयक पारित भए देशको अर्थतन्त्र नै ध्वस्त  हुने दाबी गरेका छन् । उनी भन्छन्  ‘यी कुराहरुलाई वेवास्ता गरी यो विधेयक पारित भए देशको अर्थतन्त्र ध्वस्त हुन्छ । देश नै समाप्त हुन्छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved