
बीमा समितिले बाली तथा पशुपन्छी बीमा अन्तर्गत कालिज बीमालेख जारी गरेको छ । नेपालको कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न कृषि विकास मन्त्रालयले २०६९ माघ १ गतेदेखि कृषि बीमा कार्यक्रम लागू गरेको थियो । मन्त्रालयले शुरू गरेको कृषि बीमालाई सफल बनाउन बीमा समितिले आव २०७०/७१ देखि कृषि तथा पशु बीमालाई अनिवार्य गरेको हो ।
हाल बीमा समितिले २० वटै निर्जीवन बीमा कम्पनीहरुलाई कार्य क्षेत्र तोकेको छ । समितिले कार्य क्षेत्र तोकेका कम्पनीहरुमार्फत बाली तथा पशुपन्छी बीमा गर्न सकिन्छ ।
त्यस्तै, कृषकलाई कृषि बीमाका लागि प्रेरित गर्न नेपाल सरकारले अनुदानको समेत व्यवस्था गरेको छ । सरकारले कृषि बीमा गरेबापत कृषकलाई ७५ प्रतिशतसम्म अनुदान वितरण गर्दै आएको छ । आव २०७०/७१ मा कुल बीमाङ्क रकमको ५० प्रतिशत अनुदान दिँदै आएको सरकारले गत आवमा भने अनुदान रकम बढाएर ७५ प्रतिशत पुर्याएको छ ।
तर कालिज बीमालेखमा नेपाल सरकारद्धारा प्रदान गरिने अनुदानको व्यवस्था भने नभएको समितिले जनाएको छ ।
बाली तथा पशुपन्छी बीमाअन्तर्गत हालसम्म बीमकहरूले पशु बीमालेख, पन्छी बीमालेख, तरकारी बीमालेख, आलु बीमालेख, कागति बीमालेख, बाली बीमालेख, माछा बीमालेख, धान बीमालेख, अष्ट्रिज बीमालेख लगाएतका बीमालेख जारी भएका छन् ।
बीमालेखले रक्षावरण गर्ने जोखिमहरु
यस बीमालेखले आगलागि, चट्याङ, भुकम्प, बाढी तथा डुवान, पहिरो तथा भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणहरुबाट हुन गएको क्षतिमा बीमा कम्पनीले रक्षावरण गर्ने छ । यस बीमालेखमा उल्लेखित बीमा अवधिभित्र बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकम दुई लाख रुपैयाँ भुक्तानी गर्ने छ ।
बीमा शुल्क
पन्छीको बीमा वार्षिक रुपमा गरिएको हकमा प्रति वर्ष बीमाङक रकमको पाँच प्रतिशतका दरले बीमा शुल्क लाग्नेछ । पन्छीको बीमा प्रति ब्याज(समुह) को रुपमा गरिएको हकमा प्रति ब्याज(समुह) बीमाङ्क रकमको १ दशमलव २५ प्रतिशतका दरले बीमा शुल्क लाग्ने छ । साथै, सदस्य संस्थामार्फत बीमा भएमा कुुल बीमा शुल्कमा १५ प्रतिशत छुट दिईनेछ ।
दावी प्रक्रिया
यस बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमित पन्छी मरेमा सोको सात दिनभित्र वा सो अवधिभित्र सम्भव नभएमा सोको कारण सहित सम्भव हुनासाथ बैंक वा सदस्य संस्था दावीका लागि सक्कल बीमालेख, पूर्ण रुपले भरिएको दावी फाराम, बीमित पन्छी मरेको प्रमाण पत्र, गाउपालिका, नगरपालिका, वडा वा कम्तिमा सबभन्दा नजिककोे छिमेकीको सर्जमिन मुचुल्का र बीमित पन्छी पालेको सम्बन्धी अध्यावधिक अभिलेखको प्रति पेश गर्नु पर्दछ ।