सत्य बोल्नबाट डराए बीमा समितिका अध्यक्ष, भन्छन् 'शिखरको सीईओबारे बोल्दिन्न'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 10:25:26 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्सका दिप प्रकाश पाण्डेलाई  प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने बीमा समितिको निर्णयले बीमा बजार तात्तिएको छ। समितिका अध्यक्ष चिरिन्जीवी चापागाईले पाण्डेलाई सीईओमा निरन्तरता दिने निर्णय गरेर संस्थागत सुशासनको धज्जी उडाएको आरोप खेपेका छन्। 

तीन दशकदेखि बीमा उद्योगमा नै काम गरिरहेका देखि बीमा विज्ञको रुपमा आफ्नो पहिचान बनाएकाहरुले समेत सीईओमा पाण्डेको निरन्तरता बीमा समितिका अध्यक्षले गरेको भद्दा मजाक भएको टिप्पणी गरेका छन्। 

बीमा समितिले संस्थागत सुशासन २०७५ जारि गरे पश्चात कुनै पनि व्यक्तिले एकै संस्थामा दुई कार्यकाल अर्थात ८ बर्ष भन्दा बढी समय काम गर्न नपाउने स्पष्ट व्यवस्था भएकाले निर्देशिकाको अपव्याख्या गर्ने अधिकार कसैलाई नभएको बीमा विज्ञहरुको भनाई छ।  

'कार्यकाल तोकेपनि नतोकेपनि, स्थायी भएपनि अस्थायी भएपनि सीईओको कार्यकाल ४ बर्षको हुने कानुनी व्यवस्था छ, एउटा व्यक्तिले दुई कार्यकाल भन्दा बढी काम गर्न पाउदैन' बीमा विज्ञ दामोदर बस्यौलाले भने,  'निर्देशिकाको अपब्याख्या गरेर यस अघिको नियुक्तिपत्रमा कार्यकाल तोकिएको छैन भनेर एकै संस्थामा एकै   व्यक्तिलाई राखी रहन मिल्दैन।'

बस्यौलाले अगाडी थपे, 'कुनै पनि सीईओको कार्यकाल ४ बर्षको हुन्छ, त्यो कुरा कानुनले नै स्पष्ट बोलेको छ, संचालक समितिले पूर्ण अधिकार दिएर कसैलाई सीईओको रुपमा काम गर्न भनेको छ भने त्यो गणना हुन्छ, र कसैले लगातार रुपमा ८ बर्ष काम गरेको छ भने स्वत: दुई कार्यकाल मानिन्छ। '

यस अघि: देशकै दुई ठुला कम्पनीमा सुशासनको खडेरी, अध्यक्षकै आडमा कानुनी शासनको धज्जी

बीमा समितिले कुनै एक व्यक्तिका लागि निर्देशिका नै परिवर्तन गरेर नयाँ निर्देशिका जारी गर्न नैतिकताले नदिने बस्यौलाले बताए। शिखर इन्स्योरेन्सको सीईओको हकमा भने संचालक समितिले अहिलेसम्म कसरी सम्झौता गरेको छ भन्ने कुरा अर्थपूर्ण हुने उनले बताए। 

यता बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजु रमण पौडेलले कानुन सम्मत नै भएर बीमा समितिले सीईओमा निरन्तरता दिएको बिजपाटीलाई बताए। कानुन सम्मत छ भन्ने कुरा कसरी पुष्टि हुन्छ भन्ने प्रश्न गर्दा पौडेलले यसबारे आफुले केहि नबोल्ने र थप बिषय अध्यक्षलाई सोध्न अनुरोध गरे। 

शिखरका पाण्डेलाई सीईओमा निरन्तरता दिने बिषय पूर्ण रुपमा कानुन सम्मत रहेको अध्यक्ष चापागाईंको दाबी छ। बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसारनै पाण्डेलाई सीईओमा निरन्तरता दिने निर्णय समितिले गरेको उनको भनाई छ। 

आफु अध्यक्ष भएर आउनु पुर्व नै संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ मा परिवर्तन भएको र सोहि निर्देशिकाको व्यवस्थामा टेकेर शिखरका सीईओमा पाण्डेलाई निरन्तरता दिनलाई अनुमती दिएको उनको भनाई छ। निर्देशिकामा 'कार्यकाल तोकिएको भए' भन्ने उल्लेख भएको र पाण्डेको यस अगाडीको नियुक्तिको सिफारिसमा कार्यकाल उल्लेख नभएकाले अर्को ४ बर्षको लागी सीईओमा निरन्तरता दिएको अध्यक्ष चापागाईको दाबी छ।  

'शिखरका पाण्डेले निरन्तरता पाएपछि नेपाल लाइफ र एसियन लाइफका सीईओलाई पनि बाटो खुलेको हो ?' भन्ने प्रश्नको जवाफमा अध्यक्ष चापागाईंले त्यो सम्भव नभएको जवाफ दिएका छन्। उनीहरुको नियुक्तिमै कार्यकाल तोकिएको र दुई कार्यकाल पुरा भएकाले संचालक समितिबाट सिफारिस भएपनि कानुनले सीईओ बन्न रोक्ने उनले बताए। नेपाल लाइफ र एसियन लाइफका सीईओहरुले दुई कार्यकाल पुरा भएकै कारण राजिनामा दिईसकेका छन्।  

पाण्डेको नियुक्तिको बिषयमा आफुले मिडियामा केहि नबोल्ने तर आवश्यक परे अख्तियार वा सम्बन्धित नियामकमा जवाफ दिने बताउँदै प्रस्तुत विषयमा अध्यक्ष चापागाईले आफ्नो उल्लेख नगरिदिन बिजपाटीलाई अनुरोध गरे।

२०७३ पुसमा समितिका अध्यक्षमा  नियुक्ति भएका चापागाईले सोहि बर्ष फागुन २७ गते शिखरका पाण्डेलाई ५ महिना अगाडी अर्थात कार्तिक ११ देखि लागू हुने गरि 'अन्तिम पटक' का लागि भनेर सीईओमा नियुक्ति दिएका थिए। अहिलेपनि नियुक्ति दिएका छन्। यसरी अध्यक्ष चापागाईले आफ्नो ४ बर्ष कार्यकालमा ४ बर्ष कार्यकाल हुने शिखरका सीईओ पाण्डेलाई दुई दुई पटक नियुक्ति दिएका छन्। 

२०६९ मा पनि पाण्डेलाई बीमा समितिले अन्तिम पटकका लागि भनेर सीईओमा नियुक्ति दिईएको स्रोतको दाबी छ। स्रोत भन्छ, '२०६९ मा 'अन्तिम पटक' भनेपछि २०७३ मा नै सिइओ बन नसक्ने पाण्डेलाई चापागाईंले आफु अध्यक्ष भएपछि नियुक्ति गर्नुमा केहि बिशेष कारण छ।'

यता शिखरको सीईओमा निरन्तरता पाएका पाण्डेले आफुले शिखरमा आबद्धता  जनाउँदाको समयमा अहिलेको कानुनी व्यवस्था नभएको र बीमा समितिले जारी गरेको संस्थागत सुशासन २०७५ अनुसार एक कार्यकाल थप गर्न पाउने दाबी गरे।

यो पनि:  कनेक्ट आइपीएसको काम 'गैर कानुनी' , सीईओ प्रधानले बोले सफेद झुट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved