केहि जीवन बीमाका सीईओको बेइमानी: १ करोडको कागजी ब्यापारमा ४ लाखको नोक्सानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2021 | 08:47:50 PM मा प्रकाशित

laxmi  sunrise bank

केहि जीवन बीमा कम्पनीका सीईओहरु अभिकर्तासँग मिलेर सेयरधनी र बिमित डुबाउने खेलमा लागेको पाइएको छ। झट्ट हेर्दा कारोबार रकम पनि धेरै देखिने र व्यवसाय पनि राम्रो देखिने भएपछि केहि कम्पनीका सीईओहरु यस्तो गलत बाटोमा लागेको पाइएको छ। 

बिशेषगरि पुष मसान्तको वित्तीय बिबरण बलियो र आकर्षक देखाएर संचालक तथा सरोकारवालाको दृष्टिकोणमा अव्वल ठहरिन अभिकर्तासँग मिलेर सीईओहरुले यस्तो गरेको जानकारहरुको भनाई छ। 

आफ्नो शाख बढाउँन सीईओहरुले लिएको यस्तो रणनीतिका कारण जीवन बीमा कम्पनीहरुलाई प्रति १ करोडको कारोबारमा ३ लाख ६० हजार देखि ४ लाखसम्मको क्षति भएको पाइएको छ। प्रथम बीमा शुल्क वा एकल बीमा शुल्क मध्ये कुनमा १८ प्रतिशत इन्सेन्टिभ दिने भन्ने स्पष्ट व्यवस्था नभएकाले यसको कमजोरी उठाउदै सीईओ र अभिकर्ताले कम्पनीलाई क्षति पुग्ने गरि यस्तो क्रियाकलाप गरेका हुन्। 

केही बिमा कम्पनीहरुले एकल बिमा शुल्क लिने गरी पोलिसी जारी गर्ने  र एक वर्ष पछि सरेण्डर (बिमा बन्द) गर्ने गर्ने रणनीति लिंदा जीवन बीमा कम्पनीलाई प्रति १ करोड ३ लाख ६० हजारदेखि ४ लाखसम्म क्षति भएको छ। यसबाट त्यस कम्पनीमा जीवन बीमा गर्ने बीमितले पाउने बोनस र सेयरधनीहरुले पाउने प्रतिफलमा ठुलो धक्का लागेको छ। 

यसो गर्दा एकातर्फ त्यस कम्पनीको सीईओले राम्रो व्यवसाय गरेको देखिने र अर्कोतर्फ अभिकर्तालाई १ करोडको व्यवसायबाट ४ लाखसम्म फाइदा पुग्ने भएकाले बजारमा एकल बिमा शुल्क लिने गरी पोलिसी जारी गर्ने  र एक वर्ष पछि सरेण्डर (बिमा बन्द) गर्ने अभ्यास बढेको हो। 

एकल बीमा शुल्क भुक्तानी गर्ने विकल्प रोज्दा १८ प्रतिशत इन्सेन्टिभ र ६ देखि १० प्रतिशतसम्म कमिशन आउने हुँदा अभिकर्तालाई ४ लाखसम्म फाइदा भएको पाइएको छ।  

जस्तो ५ बर्षको लागि १ करोडको बीमा गर्दा १० प्रतिशत डिस्काउन्ट पाउँदा प्रिमियम ९० करोड हुन आउँछ। यस उदाहरणमा बिमितले ९० करोडको ८० प्रतिशत अर्थात ७२ लाख  बैंकबाट ७२ लाखसम्म ऋण पाउछ। तर उसले एक बर्षपछि यो बिमा रद्द अर्थात सरेन्डर गर्छ भने उसले  कम्पनीबाट ७८ लाखसम्म पाउँछ। कम्पनीले सरेन्डर भ्यालु ७८ लाख हुने भन्दै बैंकलाई यसको ९० प्रतिशतसम्म ऋण दिन मिल्ने आशयको पत्र दिने गर्दछ। सोहि सिफारिस पत्रको आधारमा बैंकले बीमितलाई यसको ७२ लाखसम्म ऋण दिएका छन्। 

एक बर्षपछि बीमितले सरेन्डर गर्दा उसलाई ७८ लाख प्राप्त हुन्छ। जसबाट बैंकको ७२ लाख प्लस ब्याज गरि मोटामोटी ७८ लाख तिर्छ। तर अभिकर्तालाई भने १८ प्रतिशत  इन्सेन्टिभ र १० प्रतिशतसम्म कमिशन गरि ४ लाखसम्म आम्दानी हुन्छ। यसरी बिमितले आफ्नो गोजीबाट एक रुपैयाँ नतिरी उसको करोड रुपैयाँको बीमा हुने गरेको छ भने अभिकर्तालाई ४ लाखसम्म आर्जन हुने गरेको छ। तर खातामा करोडौंको ब्यापार देखिएपनि कम्पनीले उल्टै नोक्सानी ब्योहोरेका छन्। 

यसरी कागजमा १ करोडको बीमा भएको देखाउने तर त्यसको लागि अभिकर्तालाई ४ लाखसम्म खर्च गर्ने परिपाटीले धेरै जीवन बीमा कम्पनीले ठुलो नोक्सानी व्यहोरेका छन्। यसरी केही नयाँ र केही पुराना बिमा कम्पनिहरुका सीईओहरुले आफ्नो नेतृत्त्वमा कम्पनीको व्यापार देखाउनकै लागि कम्पनीलाई करोडौं नोक्सान गराउने र चलाख अभिकर्ताहरुलाई १ वर्षे कृत्रिम व्यापारबाट करोडौ फाइदा पुर्याउँदै आएका छन्।

यस अघि ब्याकडेटमा बीमा पोलिसी जारि गरेर कम्पनीलाई नोक्सानी पुर्याउने खेल बढेपछि बीमा कम्पनीले एकल बीमा शुल्कको हकमा एक बर्ष र नियमितमा २ बर्ष नपुगी कम्पनीबाट ऋण लिन नपाउने नियम ल्याएको थियो। तर जीवन बीमा कम्पनीहरुले यहाँपनि 'लुप होल' प्रयोग गरि  कम्पनीबाट ऋण दिन नपाईएपनि एक बर्षपछिको सरेन्डर भ्यालु हिसाब गरेर त्यसको धितोमा बैंक मार्फत कर्जा उपलब्ध गराएका हुन्। 

चालु आर्थिक बर्षको मङ्सिर महिनामा मात्र प्रथम बीमा शुल्क बापत १९ वटा जीवन बीमा कम्पनीले ३ अर्ब ४५ करोड शुल्क उठाएको देखिएको छ भने पुष महिनामा मात्र ६ अर्ब ५८ करोड प्रथम बीमा शुल्क उठाएका छन्। अर्थात पुष महिनामा मात्र बीमा कम्पनीहरुले ३ अर्ब १३ करोड रुपैयाँ बराबरको प्रथम बीमा शुल्क उठाएका छन्। लामो समयदेखि बीमा क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरु समेत कागजी कारोबारका कारण एकै महिनामा ३ अर्ब १३ करोडले नयाँ बीमा अर्थात प्रथम बीमा शुल्क आर्जन सम्भव भएको बताउँछन।

यसरी अभिकर्तालाई मालामाल गराएर कम्पनी अर्थात बीमित र सेयरधनीलाई नोक्सानी पुर्याउने जीवन बीमा कम्पनीहरुमा सुर्य लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल, एसियन लाइफ, ज्योति लाइफ लगायतका कम्पनीहरु अग्रपंक्तिमा छन्।  सुर्य लाइफले मात्रै पुष महिनामा ३६ करोड बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ भने गुराँस लाइफले ४८ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ। यसमा एकल बीमा शुल्कको हिस्सा धेरै रहेको बीमा समिति स्रोतको दाबी छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved