नयाँ पुनर्बीमा कम्पनीमा सेटिङको खुलासा, कसले लाइसेन्स पाउने पहिल्यै नै निश्चित !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2021 | 12:51:07 PM मा प्रकाशित

laxmi  sunrise bank

पुनर्बीमा कम्पनीको लाइसेन्समा सेटिङ भएको खुल्न आएको छ। नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि तय गरिएको मापदण्ड निर्माणको बेलादेखि नै सेटिङ को खेल सुरु भएको खुलासा भएको हो। 

हाल संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेकाले नयाँ पुनर्बीमा कम्पनीमा लगानी गर्न नपाउने नियम पनि सेटिङ अनुरुप नै बनाईएको स्रोतले जनाएको छ। समितिले नयाँ पुनर्बीमा कम्पनीको लागि आब्हान गरेको सूचनामा 'प्रस्तावकले  यसअघि  नै  नेपाल  पुनर्बीमा  कम्पनीमा  लगानी  गरेको  (क्रस  होल्डिङ  भएको)  भए  त्यस्तो प्रस्तावक लगानीकर्ताको प्रस्ताव अमान्य हुने' उल्लेख छ। 

अरु पुनर्बीमा कम्पनीमा लगानी भएकाहरुलाई रोक्नका लागि नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि यस्तो मापदण्ड बनाईएको स्रोतको दाबि छ। यो व्यवस्थाले हाल संचालनमा रहेको नेपाल पुनर्बीमामा लगानी भई नयाँ पुनर्बीमा कम्पनीमा लगानी प्रस्ताव गरेका चन्द्र ढकाल, विशाल ग्रुप लगायतलाई रोकेको छ। जबकि बैंक वित्तीय सँस्थाहरुमा कुनै एउटा कम्पनीमा संचालक भएको व्यक्तिले अर्को सँस्थामा १ प्रतिशत भन्दा कम सेयर हाल्न पाउने व्यवस्था छ। 

यस अघि खासै चर्चामा नआएको हिमालयन रि इन्स्योरेन्सलाई लाइसेन्स दिनका लागि यस्तो मापदण्ड बनेको बताईएको छ।  लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेका सुशील भट्टका सहोदर भाई दिपक भट्टको नेतृत्त्वमा हिमालयन रि इन्स्योरेन्सले लाईसेन्सको लागि आबेदन दिएको हो। 

योग्य व्यक्तिहरुलाई पाखा लगाउदै ठेक्का पट्टा तथा ठुला आयोजनामा प्रत्यक्ष संलग्न भएका सुशील भट्टलाई प्रधानमन्त्री निकट भएकै कारण लगानी बोर्डको अध्यक्ष बनाईएकाले उनको सहोदर भाई दिपक भट्टको नेतृत्त्वमा रहेको हिमालयन रि ले लाइसेन्स पाउने पहिल्यै तय भएको स्रोतको दाबि छ। 

स्रोतकाअनुसार हिमालयन रि मा ओली निकट उद्योगी तथा व्यवसायीहरुको लगानी रहेको छ। हिमालयन रि मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,  महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतका व्यक्तिहरुको लगानी रहेको बताईएको छ। 

यी व्यक्तिहरुको लगानी रहेको हिमालयन रि लाई लाइसेन्स दिनैका लागि संचालनमा रहेको पुनर्बीमा कम्पनीमा लगानी गरेकाहरुलाई प्रस्तावित पुनर्बीमा कम्पनीमा लगानी गर्न नपाइने नियम बनाईएको बताइन्छ। 

अन्य प्रस्तावित पुनर्बीमा कम्पनीमा बीमा क्षेत्रमा लामो समयदेखि काम गरेका व्यक्तिहरुको लगानी भएपनि सरकारकै दबाबमा हिमालयन रि इन्स्योरेन्सलाई नै लाइसेन्स दिनलाई बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाललाई दबाब दिईएको स्रोतको दाबि छ। 

योग्य र नेपालको बीमा क्षेत्रमा थप योगदान दिन सक्ने व्यक्तिहरु संलग्न भएका प्रस्तावित कम्पनी मध्ये एउटालाई लाइसेन्स नदिएर राजनीतिक दबाबकै कारण लाइसेन्स दिनुपर्ने हुँदा स्वच्छ र स्पष्ट छवी भएका भनिएका सिलवालमाथि नैतिक दबाब बढेको छ। 

पुनर्बीमा लाइसेन्सको लागि बीमा समितिले गठन गरेको अध्ययन समितिले समेत एउटालाई मात्र नभई कम्तिमा एउटालाई लाइसेन्स दिनुपर्ने सुझाव सहित बुझाएको प्रतिवेदनलाई समेत बेवास्ता गरि गरिएको समेत स्रोतको दाबी छ। 

लाइसेन्सको लागि आबेदन दिने अन्य कम्पनीमा काठमाडौं रि, अन्नपूर्ण रि, जेन्युन रि, प्रुडेन्सियल रि रहेका छन्। यी मध्ये लामो समयदेखि बीमा क्षेत्रमा सफल रुपमा काम गरिरहेका देवेन्द्र प्रताप शाह, महेश गुरागाई, रमेश कुमार भट्टराई, श्री चन्द्र भट्ट लगायतका व्यक्तिहरुको संलगनता रहेको काठमाडौं रि ले लाइसेन्स पाउने धेरैको बुझाई रहेको थियो। 

त्यस्तै व्यावसायिक घरानाहरू आईएमई ग्रुप, विशाल ग्रुप लगायतको लगानी रहेको तथा यो समुहसँग राम्रो व्यवस्थापन टीम भएकाले प्रुडेन्सियल रि–इन्स्योरेन्सले पनि लाइसेन्स पाउने आंकलन गरिएको थियो।  निष्पक्ष रुपमा अध्ययन हुँदा प्रुडेन्सियल रि–इन्स्योरेन्स र काठमाडौं रि मध्ये कुनै एकले लाइसेन्स पाउन सक्ने बजारको बुझाई रहेको छ। 

त्यस्तै अन्नपूर्ण मा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो सहित केही गैरआवासीय नेपालीले समेत लगानी प्रस्ताव गरेका छन्। यो कम्पनीले लाइसेन्स पाए गैरआवासीय नेपालीको लगानी रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले पनि लगानी गर्ने बताएको छ

त्यस्तै जेन्यूनमा दुई जना बीमा क्षेत्रका विज्ञहरू श्रीमान कार्की र पोखरा विश्व विद्यालयका प्राध्यापक डा. रवीन्द्र घिमिरे तथा म्यानपावर व्यवसायी रघु पुरी लगायतले लगानी प्रस्ताव गरेका छन्। 

यी सबै कम्पनीले सुरु देखि नै पुनर्बीमाको लाईसेन्स खुलाउनको लागि माग गर्दै आफ्नो तयारी गरिरहेका थिए । तर हिमालयन भने यस अघि खासै चर्चामा नआएको र लाईसेन्स पाउने पक्का भएर नै अन्तिम समयमा प्रक्रिया पुरा गरि आवेदन दिएको स्रोतको दाबि छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved