
शनिबार बिहान नेविको विष्कुट कारखानामा आगलागी भयो । निकै लामो समयको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । दमकल र हेलिकप्टरको समेत प्रयोग गरेर आगो नियन्त्रणमा ल्याईएको थियो ।
बालाजु औद्योगिक क्षेत्रकै दोस्रो ठूलो उद्योग मानिने नेविको विष्कुट कारखानामा आगलागी भएपछि बीमाका कुरा उठेको छ । नेविको प्रा.ली. ले विष्कुट कारखानाको बीमा सानिमा जनरल इन्स्योरेन्समा गरेको छ । उद्योगमा आगलागी भएपछि अब सानिमा जनरल इन्स्योरेन्सले बीमा वापतको रकम भूक्तानी गर्नुपर्ने भएको छ ।
सानिमा जनरल इन्स्योरेन्सका अनुसार कारखानाको २६ करोड रुपैयाँ बीमाङ्क बराबरको बीमा गरिएको थियो । के कति क्षति भएको छ भन्नेबारे यकिन तथ्यांक संकलनका लागि इन्स्योरेन्सले आफ्ना सर्भेयर पनि खटाईसकेको जनाएको छ ।
नेविको प्रा.ली.ले पनि आफ्ना आन्तरिक सर्भेयरहरु खटाएको कम्पनीका ब्राण्ड एण्ड मार्केटिङ विभागका प्रमुख अरुण पौडेलले जानकारी दिए । आगलागीबाट ५० करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनको भनाई छ ।
तर, कारखानाका आन्तरिक र बीमा कम्पनीका सर्भेयरहरुले सर्भे गरिरहेकाले सर्भे सकिएपछि मात्रै क्षतिको वास्तविकता थाहा हुने पौडेलको भनाई छ ।
उद्योगी राजबहादुर सिंहको लगानी रहेको नेविको विष्कुट कारखानामा शनिबार बिहान २ बजेदेखि आगो लागेको थियो ।