चारै प्रकृतिका बीमा कम्पनीको लाइसेन्स बाँड्ने बीमा समितिको तयारी, कुनको चुक्तापुँजी कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2021 | 11:17:37 AM मा प्रकाशित

बीमा समितिले जीवन, निर्जीवन र लघु बीमाको नयाँ लाइसेन्स दिने तयारी गरेको छ। हाल संचालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीको चुक्तापुंजी वृद्धि गर्ने गरि नयाँ कम्पनीको पनि लाइसेन्स खुलाउने तयारी गरिएको बीमा समितिले जनाएको छ। 

नयाँ कम्पनीहरुलाई लाइसेन्स दिने बिषय अहिले प्रारम्भिक चरणमै रहेकाले कसको पुंजी कति हुने र कति वटा कम्पनीलाई लाइसेन्स दिने भन्ने टुंगो नलागेको बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बिजपाटीलाई बताए। 

उनकाअनुसार प्रारम्भिक चरणको छलफलमा निर्जीवन बीमाको चुक्ता पुंजी साढे दुई अर्ब र जीवन बीमा कम्पनीको ५ अर्ब कायम गर्ने कुराकानी भएको छ। त्यस्तै लघुबीमाको लागि ७०-७५ करोड चुक्तापुंजी तोक्ने कुरा रहेको छ। तर सङ्ख्या भने अहिले छलफलकै क्रममा रहेको छ।

नयाँ कम्पनी जीवन र निर्जीवन कम्पनीको चुक्तापुंजी ५ अर्ब र साढे २ अर्ब तय भएपछि संचालनमा भईरहेका कम्पनीको के हुन्छ भन्ने आम चाँसो छ। यद्दपी संचालनमा रहेका कम्पनीहरुलाई पनि नयाँकै जति कायम गरिने र त्यसको लागि हकप्रद भन्दा पनि मर्जरलाई नै प्राथमिकतामा राखिने अध्यक्ष सिलवालको भनाई छ। अहिले जीवन बीमा कम्पनीको चुक्तापूँजी २ अर्ब र निर्जीवनको एक अर्ब रुपैयाँ छ । पुनर्बीमाको पनि १० अर्ब रुपैयाँ नै तोकिएको छ । 

नयाँ लाइसेन्स वितरणको काम प्रकृयाबाटै हुने र त्यसको लागि बीमा समितिले आब्हान गर्ने अध्यक्ष सिलवालले बताए। तिहार अगाडी नै सूचना जारी हुन सक्ने सिलवालको भनाई छ। 

जीवन र निर्जीवन बीमा कम्पनी भन्दा पनि बीमा समितिको पहिलो प्राथमिकतामा लघुबीमा कम्पनीको लाइसेन्स खुलाउने रहेको उनले स्पष्ट पारे। प्रारम्भिक चरणको छलफलअनुसार लघुबीमालाई प्रादेशिक स्तरमा केन्द्रिय कार्यलय राखेर तथा कारोबारको सिमा तोकेर उनीहरुको क्षमताअनुसार  देशब्यापी रुपमा कारोबार गर्न दिईने छ।

हाल संचालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरु देशका दुरदराज तथा स्थानीय तहमा 'ग्रासरुट' मा पुगेर बीमाको सेवा दिन नसकेकाले लघुबिमाको आवश्यकता भएको उनको भनाई छ। स्थानीय तह तथा प्रदेश सरकारले पनि अपनत्व लिएर काम गर्नेगरि लघुबीमाबारे काम भईरहेको र यसका लागि धेरै चरणमा छलफल भईरहेको अध्यक्ष सिलवालले बिजपाटीलाई बताए।

अध्यक्ष सिलवालले हालै मात्रै पुनर्बीमा कम्पनीको लाइसेन्स दिईएकाले अर्को थप्ने तयारी नभएको बताएपनि स्रोतले भने अर्थ मन्त्रालयको दबाबमा अर्को पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि पनि आब्हान हुने दाबि गरेको छ।

स्रोतकाअनुसार सत्ता साझेदार राजनीतिक दल, अर्थ मन्त्रालय, बीमा समिति र स्वार्थ समूहको मिलेमतोमा चुनावी खर्च जुटाउनका लागि चारै प्रकृतिका नयाँ बीमा कम्पनी खोल्न लाइसेन्स बाँड्न लागिएको हो। मन्त्रालय र समितिले जीवन बीमाको ३ वटा, निर्जीवन बीमाको ५ वटा, पुनर्बीमाको एउटा र हरेक प्रदेशमा दुईवटाका दरले १४ वटा लघुबीमा कम्पनी खोल्न लाइसेन्स बाँड्न लागेको हो ।   

हाल नेपालमा ४१  वटा बीमा कम्पनी संचालनमा रहेका छन्। जसमा १९ वाट लाइफ, २० वटा ननलाइफ र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्।  जीवन बीमा कम्पनीको लागि बीमा समितिको प्रस्तावमा मन्त्रिपरिषदबाट निर्णय हुन्छ भने निर्जीवन र लघुबीमाको लाइसेन्स दिने अधिकार बीमा समितिको संचालक समितिलाई हुने गर्दछ।      

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved