दुर्घटना बीमा निर्देशिका जारी, १ महिना अवधिको लागि पनि बीमा हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2021 | 05:42:35 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले निर्जीवन बीमा व्यवसाय अन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी तथा त्यसका लागि आवश्यक पर्ने बीमादर समेत निर्धारण गरी दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ । यस निर्देशिका बमोजिम जारी गरिने बीमालेख व्यक्तिगत दुर्घटना बीमालेख र सामूहिक दुर्घटना बीमालेख  गरी दुई प्रकारका हुनेछन् । दुर्घटना बीमालेख एकवर्ष वा सोभन्दा कम अवधिका लागि मात्र जारी गर्न सकिने व्यवस्था रहेको छ ।

एक वर्षका लागि जारी गरिने बीमालेखको एक महिनासम्मका लागि वार्षिक बीमाशुल्कको २५ प्रतिशत, एक महिनादेखि तीन महिनासम्मका लागि वार्षिक बीमाशुल्कको ४० प्रतिशत, तीन महिनादेखि छ महिनासम्मका लागि वार्षिक बीमाशुल्कको ६० प्रतिशत र छ महिनादेखि एक वर्षसम्मका लागि शत्प्रतिशत बीमादर तोकिएको छ । 

व्यक्तिगत दुर्घटना बीमाका लागि न्यूनतम् प्रतिव्यक्ति प्रतिहजार दुई रुपियाँ बीमादर तोकिएको छ । सामूहिक दुर्घटना बीमातर्फ दुई जनादेखि २५ जनासम्मको समूहका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम् दुई रुपियाँ, २६ जनादेखि एकसय जनासम्मका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम एक रुपियाँ ७५ पैसा र एकसयभन्दा बढीका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम एक रुपियाँ ५० पैसा बीमादर तोकिएको छ ।

यसैगरी, बीमाशुल्क गणना गर्दा प्रति बीमालेख एकसय रुपियाँभन्दा कम बीमाशुल्क लिन नपाइने र बीमालेख जारी गर्दा बीमाशुल्क दर तथा बीमाशुल्क रकम प्रष्ट ढङ्गले खुलाई गणना गर्नुपर्ने प्रावधान रहेको छ ।

बीमकले यस निर्देशिका बमोजिम व्यक्ति वा व्यक्तिहरुको समूहका लागि मात्र बीमालेख जारी गर्न सक्ने र बीमा प्रस्ताव फारम, तालिका, सम्पुष्टी, बीमालेख तथा सोसँग संलग्न अनुसूचीलाई समग्र बीमा करारको रुपमा लिनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । बीमालेखमा उल्लेख गरिएको बीमा अवधिभित्र दुर्घटनाबाट बीमितको मृत्यु भएमा बीमाङ्कको अतिरिक्त दुर्घटना बीमावापत बीमाङ्क रकम रु. दुईलाख बीमकले बीमितलाई भुक्तानी गर्नुपर्ने  व्यवस्था समेत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved