गाई भैंसीको कम मूल्य राखेर बीमा गरेको गुनासो, प्रदेश कार्यालय खोलेर समाधान गर्छौ: समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 08:39:04 AM मा प्रकाशित

laxmi sunrise bank

बीमा समितिले बीमा समितिको प्रदेश कार्यालय  स्थापना गर्ने भएको छ । बीमा समितिको आयोजनामा आइतबार विराटनगरमा प्रदेश नं. १ का मुख्यमन्त्री तथा प्रदेश मन्त्रीहरुको उपस्थिति र सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागितामा प्रदेश सरकार र बीमा विषयक अन्तरक्रिया कार्यक्रममा बीमा समितिका अध्यक्षले  प्रदेश कार्यालय  स्थापनाको तयारी भईरहेको बताएका हुन् ।

उनले  देशका विभिन्न स्थानमा बीमा कम्पनीहरुबाट भइरहेका कामको अनुगमन गर्न केन्द्रबाट समस्या परेकाले पहिलो चरणमा कम्तीमा तीनवटा प्रदेशमा बीमा समितिको प्रदेश कार्यालय  स्थापनाका लागि तयारी गर्न लागिएको  जानकारी दिए । कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै अध्यक्ष सिलवालले जनताको बीमाको रकम सुरक्षित हुनुपर्छ र बीमा दाबीको भुक्तानी समयमै हुनुपर्छ भन्नेमा समिति दृढ रहेको बताए । उनले देशमा बीमा व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी र विश्वसनीय बनाउन बीमा समिति प्रतिवद्ध रहेको  उल्लेख गरे।

 कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको बजेट सीमित भएकाले शुरुवाती चरणमा भए पनि जनतासँग प्रत्यक्ष जोडिएका सम्पत्ति लगायतका विभिन्न बीमा गर्न प्रोत्साहित गर्ने खालका कार्यक्रमहरु ल्याउने बताए । उनले बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि विद्यालयका पाठ्यक्रममा बीमा विषयलाई पनि समावेश गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने  जानकारी दिए ।

मुख्यमन्त्री राईले जनताले बीमा गरेपछि कुनै कारणले आवश्यक प्रमाण जुटाउन ढिलाई भए पनि बीमा दाबी गर्नबाट बन्चित नहुने व्यवस्था गर्नुपर्ने बताए।बीमाप्रतिको जनताको आकर्षणलाई अझ व्यापक तुल्याउन बीमासम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालनमा जोड दिनुपर्ने आवश्यकता समेत उनले औंल्याए ।

कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमा  गर्न आनाकानी गर्ने गरेको, गाई भैंसीको कम मूल्य राखेर बीमा गर्ने गरेको, कृषि तथा पशुपालन गर्नका लागि तयार गरिएका भौतिक संरचनामहरुको बीमा सोही बीमा अन्तर्गत गर्ने नगरिएको, सर्वसाधारणले समयमा बीमा दाबीको भुक्तानी नपाएको लगायतका गुनासाहरु गरेका थिए ।

कार्यक्रमको संचालन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सरोजप्रसाद गुरागाइँले गरेका थिए भने बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले समितिका तर्फबाट बीमासम्बन्धी प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रदेश सचिव, बीमा समितिका कार्यकारी निर्देशक तथा निर्देशक र विभिन्न सरकारी निकायका पदाधिकारीहरु सहभागी थिए ।

कार्यक्रममा उद्योगी व्यवसायी, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरु गरी करिव ८० जनाको सहभागिता रहेको समितिले जनाएको छ। देशमा बीमा क्षेत्रको समग्र विकासका साथै बीमाको पहुँच विस्तारका लागि बीमा समितिले प्रदेश सरकारहरुसँग छलफल एवम् अन्तरक्रिया गर्ने क्रममा प्रदेश नं. १ मा कार्यक्रम आयोजना गरिएको समितिले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved