स्थानीय तहमा बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालनलाई अभियानका रुपमा अगाडि बढाउने क्रममा बीमा समितिले आज प्रदेश नं. २ को बारा जिल्लाको कलैया उपमहानगरपालिकाको कलैयामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरुले बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम वडास्तरमा पनि आयोजना गर्नुपर्ने, स्थानीयस्तरमै सहजरुपमा पशुपन्छी र बालीनालीको बीमा गर्न पाउने व्यवस्था गर्नुपर्ने, बीमा दाबी प्रक्रिया सरल हुनुपर्ने, बीमा दाबी भुक्तानी समयमै पाउनुपर्ने लगायतका धारणा राखेका समितिले जनाएको छ।
अध्यक्ष सिलवालले देशमा बीमाको पहुँच बढाउनका लागि बीमा समितिले स्थानीय तहमा बीमा सचेतना कार्यक्रम आयोजनालाई अभियानका रुपमा अगाडि बढाएको उल्लेख गर्दै बीमा सम्बन्धी जनचेतना अभिवृद्धि र नीति निर्माणका लागि आवश्यक सहयोग गर्न बीमा समिति तयार रहेको बताए । साथै, उनले उपमहागरपालिकाका सेवासँग आवद्ध गरेर घर सम्पत्तिको बीमालाई अनिवार्य गर्न र पशुपन्छी तथा कृषि बीमाको महत्वका बारेमा कृषकहरुलाई जानकारी दिन आग्रह गरे।
कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमाको परिचय, बीमाको महत्व, बीमा दात्री भुक्तानी प्रक्रिया र बीमाको पहुँच विस्तारमा स्थानीय सरकारको भूमिका लगायतका विषयहरु समेटिएको बीमासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
बीमा समितिको आयोजनामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव, उपप्रमुख रहिमा खातून, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक दिनेश कुमार लाल, कलैया उपमहानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य र प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु, बीमा, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, शिक्षक, कृषक र सर्वसाधारण गरी करिव ५० जनाको सहभागिता रहेको थियो ।