१९ बीमा कम्पनीले रोजे मर्जर तथा प्राप्ति, केहि आफैं पूंजी थप्दै, अप्ठ्यारोमा एसियन लाइफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2022 | 01:27:49 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जर तथा प्राप्तिमा जान निर्देशन दिएसँगै १९ कम्पनीले यो बाटो रोजेका छन्। चालू आर्थिक बर्षको मसान्तसम्म अर्थात असार मसान्तसम्म जीवन तथा निर्जीवन गरि १९ बीमा कम्पनीले मर्जर तथा प्राप्तिको बाटो रोजेका हुन्। 

प्राइम, गुराँस र युनियन लाइफबाट सुरु भएको मर्जर तथा प्राप्ति प्रकृया असार मसान्तसम्म आइपुग्दा १९ कम्पनी पुगेका छन्।  जसमा आज अर्थात असार ३२ गते मात्रै मर्जर तथा प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका प्रभु र अजोड़ इन्स्योरेन्स कम्पनी पनि रहेका छन्। 

मर्जर तथा प्राप्तिमा जाने १९ कम्पनीमा ९ वटा कम्पनी जीवन बीमा रहेका छन् भने बाँकी निर्जीवन रहेका छन्। मर्जर तथा प्राप्तिमा जाने निर्णय गरेका १९ वटा कम्पनी अब घटेर ९ वटा कम्पनी बन्ने भएका छन्। 

मर्जर तथा प्राप्तीमा जाने जीवन बीमा कम्पनीमा प्राइम, गुराँस, युनियन, सानिमा, रिलायन्स, सुर्य र ज्योति लाइफ, प्रभु र महालक्ष्मी लाइफ  रहेका छन् भने निर्जीवनमा सगरमाथा, लुम्बिनी जेनेरल, एभरेष्ट, हिमालयन जेनेरल, प्रिमियर, सिद्दार्थ, सानिमा जेनेरल, जेनेरल, प्रभु र अजोड़ इन्स्योरेन्स रहेका छन्।  

जसमा प्राइम, गुराँस र युनियन मिलेर प्राइम बन्ने भएको छ भने सानिमा र रिलायन्सले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन। त्यस्तै सुर्य र ज्योति लाइफले तथा प्रभु र महालक्ष्मी लाइफ पनि एक आपसमा मर्जर तथा प्राप्तीमा जाने सम्झौता गरेका छन्। 

त्यस्तै निर्जिवन तर्फ सगरमाथा र लुम्बिनी जेनेरल, एभरेष्ट र हिमालयन जेनेरल, प्रिमियर र सिद्दार्थ इन्स्योरेन्स, सानिमा जेनेरल र जेनेरल इन्स्योरेन्स, प्रभु र अजोड़ इन्स्योरेन्सबीच एक आपसमा मर्जर तथा प्राप्तीमा जाने सम्झौता भएको छ। 

केहिले पूंजी थप्दै

जीवन बीमा तर्फ रहेका कुल १९ कम्पनी मध्ये ९ वटाले एक आपसमा मर्जर तथा प्राप्तिमा जाने सम्झौता गरेर ४ वटामा झरेका छन्। तर अझैं पनि १० वटा कम्पनी मध्ये कहिले आफैं चुक्तापुंजी वृद्धि गरेर अगाडी बढ्ने तयारीमा जुटेका छन्। 

आफैं चुक्तापुंजी थपेर अगाडी बढ्नलाई बीमा समितिले नयाँ कम्पनीलाई  अर्थात पछिल्लो पटक संचालनमा आएका १० वटा कम्पनीलाई मात्र यो सुविधा दिएको छ। 

आफैं पूंजी थपेर अगाडी बढ्ने कम्पनीहरुमा रिलायबल र आइएमई लाइफ रहेका छन्। त्यसो त आइएमई र रिलायबल लाइफमा क्रस होल्डिंङ भएपनि यी दुई कम्पनी आफैं पूंजी थपेर अगाडी बढ्नलाई बीमा समितिसँग अनुरोध गरेका छन्। रिलायबल लाइफले सकेसम्म सेयरधनीबाटै पैसा उठाएर आफैं तोकिएको चुक्तापुंजी ५ अर्ब पुर्याउने योजनामा छ। रिलायबलले १:१ को लागि आफ्ना सेयरधनीलाई पैसा जम्मा गर्नलाई 'कल' समेत गरिसकेको छ। 

त्यस्तै सिटिजन लाइफले पनि आफैं चुक्तापुंजी थपेर अगाडी बढ्ने तयारीमा जुटेको छ। सिटिजन्स लाइफले पनि आफैं चुक्तापूंजी पुर्याउने तयारीका साथ आउँदो बिशेष साधारणसभामा पूंजी थपको प्रस्ताव लैजादैछ। 

यता नेपाल लाइफको चुक्तापुंजी पहिल्यै तोकिएको भन्दा बढी भईसकेको छ भने विदेशी लगानी रहेका मेट लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई सरकारले आफ्नै तरिकाले अगाडी बढ्नलाई अवसर दिएको छ। यद्दपी एलआईसीएनले हकप्रद जारी गरेर अगाडी बढ्ने अनुमती भारतको माउ कम्पनीबाट लिइसकेको छ। 

त्यस्तै तोकिएको चुक्तापुंजी ५ अर्ब नपुगेको नेशनल लाइफ इन्स्योरेन्सले पनि दुई आर्थिक बर्षको लाभांश दिएर त्यसबाटै तोकिएको चुक्तापुंजी पुर्याउने योजनामा छ। नेशनल लाइफले २४ प्रतिशतको बोनस सेयर दियो भने पनि उसको पूंजी ५ अर्ब पुग्नेछ। हाल उसको चुक्तापुंजी ४ अर्ब ३ करोड रहेको छ। यता नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बीमा संस्थान आफ्नै गतिले अगाडी बढिरहेको छ।

अन्यौलमा निर्जीवन कम्पनी 

१९ मध्ये ९ जीवन बीमा कम्पनीले मर्जर तथा प्राप्तिको बाटो रोजेपनि २० मध्ये अझैं १० वटा निर्जीवन कम्पनी कसरी अगाडी बढ्छन भन्ने कुराको अन्यौल यथावत छ। 

अहिलेसम्म कसरी अगाडी बढ्ने भनेर निर्णय लिन नसकेका निर्जीवन कम्पनीमा नेपाल इन्स्योरेन्स, प्रुड़ेन्सियल, युनाइटेड, नेको, राष्ट्रिय बीमा कम्पनी, आइएमई जेनेरल, एनएलजी र् शिखर इन्स्योरेन्स रहेका छन्। शिखर इन्स्योरेन्सको पहिल्यै चुक्तापुंजी २ अर्ब २८ करोड रहेकाले उसलाई चुक्तापुंजी वृद्धिको कुनै दबाब छैन।  

अप्ठ्यारोमा एसियन लाइफ 

बीमा समितिका तत्कालिन अध्यक्ष चिरिन्जीवी चापागाईको पालामा नयाँ लाइसेन्स लिएका जीवन बीमा कम्पनीलाई आफैं पूंजी थपेर अगाडी बढ्नलाई अवसर दीइएपनि बीमा समितिले पुराना कम्पनीलाई भने यस्तो छुट दिएको छैन र नदिने स्पष्ट पारेको छ। 

त्यहि भएर पनि एसियन लाइफले अब तोकिएको चुक्तापुंजी ५ अर्ब कसरी पुर्याउँछ भन्ने चाँसो बढेको छ। बीमा समितिले पहिलेनै एसियन लाइफ जस्ता कम्पनीलाई हकप्रद मार्फत तोकिएको पूंजी पुर्याउन नदिने भनिसकेको छ। यस्तो अवस्थामा उसले अर्को कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ती सम्झौता गर्नुपर्ने थियो जुन उसले गरेन। एसियन लाइफको अहिलेको चुक्तापूंजी २ अर्ब ५१ करोड रहेको छ। झन्डै अहिलेकै बराबरको थप चुक्तापुंजी एसियन लाइफले कसरी पुर्याउँछ भन्ने आम चाँसो बनेको छ। 

यद्दपी बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा समितिले लिएको मर्जर तथा प्राप्ति प्रकृयालाई मजाक ठान्ने र आलटाल गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिईसकेका छन्। बीमा कारोबार नै ठप्प पारिदिने जस्ता कठोर कारबाही गरिने उनले बताईसकेका छन्। 

यस अगाडी:

 - तोकिएको चुक्तापुंजी पुर्याउन कुन बीमा कम्पनीलाई कति रकम अभाव ? (सूचीसहित)


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved