लघुबीमा कम्पनीलाई लाईसेन्स दिने बाटो खुल्यो, आईपिओमार्फत सर्वसाधारणलाई ३० प्रतिशत शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2022 | 08:40:40 PM मा प्रकाशित

बीमा समितिलाई लघु बीमा व्यवसाय गर्ने कम्पनीलाई लाईसेन्स दिने बाटो खुलेको छ । समितिको साउन ३१ गते बसेको संचालक समितिको बैठकले लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेसँगै समितिलाई लघु बीमा व्यवसाय गर्ने कम्पनीलाई लाईसेन्स दिने बाटो खुलेको हो।

अब समितिले आवेदन आह्वान गरि लघु बीमा व्यवसाय गर्नको लागि कम्पनीलाई लाईसेन्स दिन सक्ने छ । लघु बीमा व्यवसाय गर्ने लघु बीमकको दर्ता सम्बन्धी कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन वाञ्छनीय भएकोले समितिले निर्देशिका जारी गरेको जनाएको छ।

निर्देशिका अनुसार लघुबीमा कम्पनी पबलिक कम्पनीको रुपमा दर्ता हुनु पर्नेछ। चुक्ता पुंजी समितिले तोके बमोजिम हुने उल्लेख छ। संथापकले कम्तिमा ५१ प्रतिशत शेयर धारण गर्नु पर्ने उल्लेख छ । ३० प्रतिशत शेयर आईपिओ मार्फत सर्वसाधारणलाई निष्काशन गर्नु पर्ने छ। ५ प्रतिशत शेयर कर्मचारीलाई दिन सकिने छ । 

त्यस्तै लगानीकर्ता संगठित संस्था भएमा सोको पूँजी वा जगेडा कोषमा लगानीयोग्य रकम भएको हुनुपर्ने उल्लेख छ । निर्देशिका अनुसार संस्थापकका एकाघर परिवार, संस्था वा संस्थागत समूहको कुल चुक्ता पूँजीको पन्ध्र प्रतिशत वा सोभन्दा कम शेयर स्वामित्व हुनु पर्नेछ । प्रस्तावित बीमकको संस्थापक वा सञ्चालक निजको एकाघर परिवारका कुनै सदस्य सोही प्रकारका अन्य बीमकको सञ्चालक वा आधारभूत शेयरधनी भएको हुनु नहुने ब्यबस्था निर्देशिकामा छ।

त्यस्तै प्रस्तावित बीमकको आधारभूत शेयरधनी सोही प्रकारको अन्य बीमकको आधारभूत शेयरधनी हुन नपाउने उल्लेख छ। निर्देशिका अनुसार प्रस्तावकले लघु जीवन बीमा वा लघु निर्जीवन बीमा व्यवसाय गर्नेगरी छुट्टाछुट्टै आवेदन दिनु पर्नेछ ।

 संस्थापकले यसअघि कुनै बीमा कम्पनीमा लगानी गरेको भए त्यस्तो बीमकको नाम, लगानीको प्रतिशत र संचालक समितिमा प्रतिनिधित्व गरिरहेको भए सोसमेत खुल्ने गरी विवरण उल्लेख गर्नु पर्नेछ । प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै बीमकमा प्रतिहिस्सेदारी (क्रस होल्डिङ) रहेको भए वा हुने गरी त्यस्तो लगानीकर्ता संस्थापक रहन पाउनेछैन।  प्रस्तावित लघु बीमकको कर्पोरेट कार्यालय काठमाण्डौ उपत्यका बाहिर अवस्थित हुनु पर्नेछ । छनौट भएका प्रस्ताव मध्ये समितिले कुनै खास प्रदेशमा मुख्य कार्यालय रहने गरी तोक्न सक्नेछ । त्यस्तै एक तिहाई संस्थापकले कम्तिमा स्नातक तहसम्म अध्ययन गरेको हुनु पर्ने छ ।

बीमा समितिले लाईसेन्स दिन आवेदन खुलाउने र प्राप्त आवेदन समितिको मुल्यांकन समितिले मुल्यांकन गरेर सूचनामा तोकिए अनुसारका कम्पनीलाई लाईसेन्स दिने उल्लेख छ । लाईसेन्स पाएको ३ महिना भित्र व्यवसाय सुरु गरि सक्नु पर्ने छ ।  


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved