बीमामा 'सिरियल किलिङ' : दुई पटकमा पनि श्रीमती नमरेपछि 'सालो'को हत्या, तेस्रो योजना तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 10:50:20 AM मा प्रकाशित

laxmi  sunrise bank

पैसाको लोभमा अपराधीहरूले कसैको घर फोर्नु, चोरी डकैती गर्नु, त पुरानै चलन हो । तर पछिल्लो समय यस्ता गिरोहहरूले जीवन बीमाको सहायता लिएर बिमीतको हत्या गरी करोडौं कमाउने धन्दा शुरू गरेका छन् । यस्ता प्रकारका घटनाहरूले समग्र वित्तीय क्षेत्रमै हलचल पैदा गरिदिएको छ ।

२०७८ को वैशाख १ गते अढाई करोड बीमा रकमको लोभमा कोहलपुरमा हत्या गरिएका २१ वर्षकासर्जन बिकसँग जोडिएर तीन वटा घटना घटेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उक्त हत्याकाण्डमा संलग्न समूह बारे थप अनुसन्धान गर्दै जाँदा उनीहरुले यसअघि पनि यस्तै घटना घटाएको र यस घटना पछि पनि अर्को घटना घटाउने तयारी गरेको पाइएको केन्द्रिय अनुसन्धान ब्युरो, सीआईबीका प्रवक्ता एसपी कमल थापाले बिजपाटीसँग बताए ।

सीआईबीका अनुसार त्यतिबेला हत्या गरिएका सर्जन बिककी दिदी दुर्गा बिकसँग गिरोहका मुख्य नाइके सन्जीव अर्यालले त्यसअघि नक्कली बिहे गरेका थिए । दुर्गाको पनि अढाई करोडकै बीमा गरिएको थियो । अर्यालले दुईपटक दुर्घटना गराएर दुर्गालाई मार्ने प्रयास गरे, तर दुर्गाको मृत्यु भएन ।

दुर्गालाई मार्ने प्रयास दुईपटक असफल भएपछि अर्यालले बीमा सरेन्डर गरे । प्रिमियमबापतको रकम तिर्न छोडेर दुर्गाकै भाई सर्जन बिकको बीमा गराएर हत्या गर्ने योजना बनाए ।

सर्जन टिप्परमा बालुवा लोड गराउने काम गर्थे । २०७८ को वैशाख २ गते गते टिप्परमा बालुवा लोड गराएर बाइकमा फर्कने क्रममा विपरित दिशाबाट आएको ट्रकको ठक्करपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो । उनको २ करोड ५० लाख बराबरको जीवन बीमा र म्यादी जीवन बीमा गरिएको थियो   अर्यालको गिरोहले सर्जन र सपना मल्लको बिहे पहिल्यै गराइदिएका थिए । मल्ललाई नै दाबी भुक्तानीको लागि इच्छाइएको थियो ।

सर्जन बिकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त दुई करोड ५० लाख रुपैयाँ लिएकी २१ वर्षीया सपना मल्ल, मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल, सञ्जीव अर्यालसँग पूर्व चिनजान एवम् रिलायन्स लाइफका बीमा एजेन्ट ३२ वर्षका सरदार अहमद खाँ, सपना मल्ललाई विदेश लैजाने भनी अर्यालसँग भेट गराउने आरति उपनाम भएकी ललिता सापकोटा, सर्जनलाई ठक्कर दिएर मृत्युको मुखमा पुर्याउने व्यक्ति ३३ वर्षका टोपबहादुर राना क्षेत्री, काठमाण्डौमा बीमाको भुक्तानी लिन सपना मल्ललाई ल्याउने ३८ वर्षका दीपक केसी उक्त गिरोहका सदस्यहरू हुन् ।

सर्जनको मृत्यु भएको पुष्टि गरेर रिलायन्सले अढाई करोड बीमा रकम सपनालाई दियो । त्यसपछि रिलायन्सले दाबी भुक्तानीको लागि पुनर्बीमामा आवेदन गरेपछि नेपाल पुनर्बीमा कम्पनीले बिकको मृत्यु शंकास्पद रहेको भन्दै २०७८, पुस ३० गते प्रहरीलाई अनुसन्धानको लागि पत्राचार गरेपछि पोल खुलेको थियो । त्यसपछि गिरोहका सबै सदस्यलाई समातेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानकै क्रममा सर्जनकी दिदीसँग अर्यालले नक्कली बिहे गरेर बीमा रकम हत्याउने गरेको खुलेको हो । 'दुईपटक दुर्घटना गराउँदा पनि दुर्गाको मृत्यु नभएपछि उनकै भाइलाई प्रयोग गरेको अनुसन्धानबाट देखिन्छ,' सीआईबि स्रोतले बिजपाटीसँग भन्यो ।

यो गिरोहले आवश्यकताअनुसार पात्रको चयन गर्ने तर उस्तै प्रकृतिको घटना घटाएर कमाउने धन्दा गर्ने गरेको र यसका जीवन बीमा रोजेको पाइएको हो । डिपेन्डेन्ट भिसामा विदेश जाने तयारीमा रहेकालाई रोज्ने र मोटो रकमको जीवन बीमा गराउने र बिमितको हत्या गरी उक्त बीमाको पैसा निकाल्ने यो गिरोहको धन्दा नै भएको अनुसन्धानमा देखिएको हो ।

दुर्गा बिकसँगको योजना असफल भएपछि गिरोहका नाइके अर्यालले दुर्गा बिकसँग सम्बन्ध बिच्छेदका साथै रिलायन्स लाइफमा गरेको अढाई करोडको पोलिसी पनि बन्द गरेका थिए ।

सर्जन बीकको हत्या गरेर अढाई करोड पैसा झिक्न सफल भएलगत्तै यो गिरोहले फेरि अर्को घटना घटाउने तयारी गरिसकेको र त्यसका लागि पात्र पनि तयार गरिसकेको अनुसन्धानमा खुलेको छ ।

'अर्याल नेतृत्वको गिरोहले सुनिल चौधरी र करिश्मा बिकको नक्कली बिहे गराइसकेको अनुसन्धानका क्रममा पाइएको छ । अनि रिलायन्स लाइफमै अर्को अढाई करोडको जीवन बीमा गर्ने तयारी भइसकेको थियो,' सीबीआई स्रोतले भन्यो ।

जीवन बीमालाई हतियार बनाएर योजनामै कसैको बीमा गर्ने र उसैको हत्या गरी पैसा कमाउने उक्त गिरोहको योजना अब सफल भने हुनेछैन । प्रहरी हिरासतमा रहेका उनीहरू अब कानूनअनुसार जेल त जानेनै छन् । तर नेपालमा यसरी बीमालाई प्रयोग गरेर 'सिरियल किलिङ'को घटना पहिलोपटक देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।   

जीवन बीमा कम्पनीहरुले जसरी पनि बढी कारोबार गरी धेरै नाफा कमाउनलाई बीमा अभिकर्ताको जस्ता सुकै प्रस्तावलाई सहजै स्वीकार गर्दा यस्ता गिरोहको रोजाइमा जीवन बीमा पर्न गएको बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजु रमन पौडेलले बिजपाटीलाई बताए ।

उनकाअनुसार बीमित गर्ने व्यक्तिको आय स्रोत, उसको मेडिकल रिपोर्ट र नाता प्रमाणितको बलियो कानुनी आधार खुल्ने कागजातमा मात्रै जीवन बीमा कम्पनीले ध्यान दिने हो भनेपनि यस्ता घटन न्यूनीकरण हुने देखिन्छ ।

यसअघि - 

बीमा गरिएको अढाई करोडको लोभमा बिमितको हत्या, पुनर्बीमालाई शंका लागेपछि खुल्यो पोल

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved