सामूहिक बाख्रा बीमा लगायतका व्यवस्था थपेर बीमालेखमा संशोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 05:22:36 PM मा प्रकाशित

laxmi sunrise bank

बीमा समितिले बाख्रा बीमालेखमा बाख्रा बीमालेख खरीद गर्ने बाख्रापालक कृषकको दुर्घटना बीमा, सामूहिक बाख्रा बीमा लगायतका व्यवस्थाहरु थप गरी बाख्रा बीमालेखमा संशोधन गरेको छ ।

वीमा समितिकाअनुसार कृषकले बाख्रापालन गर्दा एक महिनादेखि ७ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न सक्ने, बीमा गर्दाको समयमा सबै बाख्रा स्वस्थ तथा कुनै चोटपटक नलागेको हुनुपर्ने, बाख्रामा खोप लगाएको हुनुपर्ने, बाख्राको खोर सुरक्षित तथा व्यवस्थित हुनुपर्ने र बीमा गरिएका बाख्रामा क्षति भएमा तीन दिनभित्र बीमकलाई जानकारी गराउनुपर्ने लगायतका व्यवस्था गरिएको छ ।

यसैगरी, बाख्रा बीमालेख बमोजिम बीमाङ्क गणना गर्दा ३१ दिनदेखि ९० दिनसम्मको पाठापाठीको हकमा बीमाङ्क रकमको ७ प्रतिशत, ९१ दिनदेखि ५ वर्षसम्मका बाख्राको ५ प्रतिशत र ५ वर्षभन्दा माथि ७ वर्षसम्मका बाख्राको हकमा ७ प्रतिशत बीमाशुल्क लाग्ने व्यवस्था रहेको छ ।

बाख्रा बीमा गरिएका बाख्रामध्ये ३१ दिनदेखि ९० दिनसम्म बाख्राको वास्तविक क्षतिको २५ प्रतिशत, ९१ दिनदेखि ६ महिनासम्म वास्तविक क्षतिको ५० प्रतिशत, ६ महिनादेखि माथि ९ महिनासम्म वास्तविक क्षतिको ७५ प्रतिशत र ९ महिनादेखि १२ महिनासम्मका क्षति भएका बाख्राको वास्तविक क्षतिको १०० प्रतिशत दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ ।

बाख्रा बीमालेख खरीद गर्दा दुर्घटना बीमा वापत् बीमाशुल्क प्रति बीमित रु. ५ सय बीमाशुल्क बुझाउनुपर्ने र त्यसरी बुझाइएको बीमाशुल्क वापत बीमित बाख्रापालक कृषकको रु. २ लाखको दुर्घटना बीमा हुने समेत व्यवस्था संशोधित बाख्रा बीमालेखमा रहेको छ ।

बाख्रा बीमा अन्तर्गत भौतिक सम्पत्तिको बीमा गर्दा बीमा समितिबाट जारी सम्पत्ति बीमा निर्देशिका, २०७५ बमोजिम गर्नुपर्ने र त्यसमा अनुदानको व्यवस्था नभएको समेत उल्लेख छ।

बीमकले आफूसमक्ष परेको बाख्राको बीमा दावीको तत्काल छानविन प्रक्रिया प्रारम्भ गर्न ७ दिनभित्र क्षति मूल्याङ्कनकर्तालाई खटाउनुपर्ने, क्षति मूल्याङ्कनकर्ताले १५ दिनभित्र क्षति मूल्याङ्कन गरेर प्रतिवेदन पेश गर्नुपर्ने र क्षति मूल्याङ्कन प्रतिवेदन पेश गरिएको मितिले ३५ दिनभित्र बीमकले दायित्व यकीन गरी बीमितलाई दावी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ।


बीमितले दाबी भुक्तानी वापत रकम नपाउने भएमा सोही अवधिभित्र कारण सहित बीमितलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था समेत रहेको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved