जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ ।
विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स बीच गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । साथै मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्ताव समेत पारित गरेको छ ।
यी दुई कम्पनीले असार ३० गते मर्जमा जाने सम्झौता गरेका थिए । बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि यी २ कम्पनी मर्ज हुन लागेका हुन् । बीमा समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न छ।