कान्छारामले २७ लाखको शवबाहनलाई ८ लाखको भनेर बीमा गराए, बाँडेका सबै एम्बुलेन्स पनि आफ्नै नाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2022 | 10:58:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) अहिले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । रामेछापबाट चुनाव जितेर नयाँ बानेश्वरस्थित संसद भवन छिर्ने दाउमा रहेका कान्छारामको चुनावी अस्त्र हो ‘एम्बुलेन्स’ ।

‘क’ वर्गका निर्माण व्यवसायी रहेका कान्छाराम तामाङको विषयमा २०७४ सालको निर्वाचनका समयमा खोज पत्रकारिता केन्द्र (खोपके)ले एउटा खोजमूलक समाचार प्रकाशित गर्दै ‘बद्नाम ठेकेदार’को उपमा दिएको थियो । गत निर्वाचनमा उनी माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठसँग ६ हजार ३ सय मतले पराजित भएका थिए ।

हाल माओवादी समेत सहभागी गठबन्धनको तर्फबाट कान्छाराम तामाङ आफूले गाउँ गाउँमा एम्बुलेन्स दिएको प्रचार गर्दै भोट मागिरहेका छन् । यतिसम्म की, निर्वाचन आचारसंहिता विपरित उनले आफूलाई भोट हाल्ने मतदातालाई आफ्नो निजी हेलिकप्टरमा यात्रा गराउने आश्वासन समेत बाड्न भ्याएका छन् । 

देशैभरी ठेक्का अलपत्र छोडेर ‘एडभान्स’मार्फत लिएको रकमको दोहन गरिरहेका कान्छारामले रामेछापका विभिन्न गाउँमा एम्बुलेन्स र शव–बाहन नबाडेका होइनन् । तर, ती एम्बुलेन्सहरु अधिकांश अहिले बिग्रिएर थन्किएका छन् । 

मन्थली नगरपालिका वडा नम्बर ४ सालुका लागि उनै कान्छारामले उपलब्ध गराएको एम्बुलेन्स बाटो हिड्दा पनि कान्छाराम र उनले एम्बुलेन्स वितरण गरेको विषयलाई मुद्दा बनाएर मत तान्न कसरत गरिरहेका काँग्रेसका कार्यकर्तालाई समेत गिज्याउँदै सालु बजारमा दुर्घटनाग्रस्त अवस्थामा थला परेको छ । 

रामेछाप नगरपालिका रामपुरमा उनले दिएको भनिएको एम्बुलेन्स आफैँ बिरामी छ । रामपुरको एम्बुलेन्स गत महिना दुर्घटना भएको थियो । तर, एम्बुलेन्सको तेस्रो पक्ष (थर्ड पार्टी) बीमा मात्रै गरेको पाइयो । तेस्रो पक्ष बीमाबाट दुर्घटना भएको एम्बुलेन्सको बीमा वापतको पैसा आउँदैन । 

शवबाहन दुर्घटना, बीमाको दाबी भूक्तानी भएन

मन्थली नगरपालिकालाई कान्छारामले दिएको शव–बाहन दुर्घटनामा पर्यो । ६ लाखको हाराहारीमा खर्च गरेर मर्मत गरियो । तर, बीमा वापतको रकम पाएन । किनकी, २७ लाख मूल्य पर्ने एम्बुलेन्सको ८ लाख मात्रै मूल्यांकन गरेर कम बीमा शुल्क तिर्नुपर्ने गरी बीमा गरिएको थियो । जसका कारण युनाइटेड इन्स्योरेन्स कम्पनीले बीमाको दाबी भूक्तानी आजसम्म दिन सकेको छैन । 

यस विषयमा बीमा समिति (मंगलबारबाट बीमा समिति बीमा प्राधिकरण बनेको छ) मा उजुरी पनि पर्यो । तर, भूक्तानी हुन सकेको छैन ।

‘सामानको वास्तविक मूल्य अनुसारको बीमा गर्नुपर्ने हो, तर कान्छारामले कर छुट पाएको मूल्यलाई देखाएर यातायातबाट पास गराउने बेलामा ८ लाख मूल्य  परेको हो भनेर बिल देखाएर युनाइटेड इन्स्योरेन्सबाट बीमा गराएका रहेछन्’ मन्थली नगरपालिका स्रोत भन्छ, ‘खर्च भयो ५ लाख ५७ हजार, बीमा कम्पनीले २५ हजार दिन्छु भन्यो । हामीले त्यो पैसा पनि बुझेका छैनौँ ।’ 

हस्तान्तरण गर्दा कान्छारामले बीमाको कागजात दिएनन्

कान्छाराम तामाङले शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानको नामबाट कर छुट लिएर उक्त शवबाहन ल्याएका थिए । उनले शवबाहन मन्थली नगरपालिकालाई हस्तान्तरण गर्दा चाबी र ब्लु-बुक मात्रै दिए । बीमाको कागजात दिएनन् । 

तर, रामेछापमा काम गर्न आएका इलामका एक जना मजदूरको रामेछापमै मृत्यु भयो । उक्त शवबाहन मार्फत उक्त शव इलाम लैजानुपर्ने भयो । शव बोकेर इलाम हिडेको कान्छारामले मन्थली नगरपालिकालाई दिएको उक्त शवबाहन धनुषास्थित राजमार्गमै दुर्घटनामा पर्यो । 

दुर्घटनामा परेपछि मन्थली नगरपालिकाले बीमाको कागजात खोजी गर्यो । खोजी गर्दा उक्त शवबाहनको बीमा शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानले युनाइटेड इन्स्योरेन्समा गरेको फेला पर्यो । नगरपालिकाले पटक पटक ताकेता गरेपछि कान्छाराम तामाङले बीमाको कागजात दिए । 

त्यसपछि बीमा कम्पनीबाट सर्भेयर बोलाइयो । सर्भेयर आएर मर्मत गर्दा लाग्ने खर्चको अनुमानित लागत निकाले । लगत्तै, कम्पनीले नै मन्थलीस्थित कार्की मोटर्सलाई उक्त शवबाहन मर्मतका लागि भन्यो । कार्की मोटर्सले मर्मत गरिदियो । मर्मतपछि नगरले बीमा दाबी गर्यो । तर, मूल्यभन्दा कम मूल्यांकन गरेर बीमा गरिएको कारण देखाउँदै भूक्तानी भएन ।

कार्की मोटर्सले डेढ वर्ष पैसा पाएन

बीमा कम्पनीबाट दाबी भूक्तानी भएपछि कार्की मोटर्सलाई मर्मत वापतको लागत भूक्तानी गर्ने भनेर नगरपालिकाले तत्कालै कार्की मोटर्सलाई भूक्तानी दिन सकेन । तर, बीमा कम्पनीले जम्मा २५ हजार मात्रै लिन भन्यो । यो रकम पनि शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा गएपछि मात्रै शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानले नगरपालिकालाई पठाउनु पर्ने अवस्था आयो । किनकी, शवबाहन आजको मितिसम्म पनि शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानकै नाममा छ ।

यसपछि नगरका कर्मचारीहरु आजित भए । 

‘कार्की मोटर्सलाई भूक्तानी दिँदा आफ्नो नाममा नभएको शवबाहनको मर्मत शुल्क कसरी दिनु ? दिँदा बेरुजु हुने भयो’ नगर स्रोत भन्छ, ‘नदिउँ कार्की मोटर्सले मुद्दा हाल्ने अवस्था आउन लाग्यो । तैपनि हामीले कन्भिन्स गराउँदै कुरायौँ । तर, केही नलागेपछि हामीले गत असारमा ५ लाख ५७ हजार कार्की मोटर्सलाई तिर्यौ । त्यो उसलाई तिर्नुपर्ने नै पैसा थियो ।’ 

‘नामसारी नै हुँदैन’

कर छुट पाएको मालबस्तु सम्बन्धित धनीको नामबाट अर्को पक्षको नाममा नामसारी गर्न कानुन अनुसार नै कठिन छ । यातायात कार्यालयको ढड्डा अनुसार उक्त शवबाहन शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा छ ।

मन्थली नगरपालिकाका कर्मचारी पटक पटक नामसारीका लागि यातायात पुग्दा यातायात कार्यालयले नामसारी गर्ने हो भने खरिद गर्दा पाएको कर छुट सबै भूक्तानी गर्नुपर्ने बताइदिए । जबकी, कान्छाराम तामाङले शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानको नामबाट खरिद गर्दा उक्त शवबाहनमा १९ लाखको हाराहारीमा कर छुट पाएका थिए । अब उक्त शवबाहन मन्थली नगरपालिकाले आफ्नो नाममा ल्याउन त्यो १९ लाख यातायात कार्यालयमा तिर्नुपर्ने हुन्छ । 

यसरी एकातिर कम मूल्यांकन देखाएर बीमा वापतको रकम भूक्तानी पाउनबाट समेत नगरपालिकालाई बन्चित गराएका कान्छारामले नामसारी गर्नुपर्दा अर्को चर्को शुल्क भूक्तानी गर्नुपर्ने बाध्यताको सिर्जना गरिदिएका छन् । 

कान्छाराम तामाङले आजसम्म जिल्लामा वितरण गरेका भनिएका एम्बुलेन्स र शवबाहन कुनै पनि सम्बन्धित स्थानीय तहको नाममा छैनन् । सबै शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा छन् । नामसारी गर्नुपर्दा कान्छारामले पाएको कर छुट पनि तिर्नुपर्ने हुन्छ । 

तर, उनै कान्छाराम जिल्लामा एम्बुलेन्स बाँडेर समाजसेवा गरेको देखाएर भोट मागिरहेका छन् । उनले बाँडेका एम्बुलेन्स स्थानीय तह, वडा वा क्लबले आफ्नो नाममा ल्याउन सक्ने अवस्था छैन । किनकी, यसको लागि एउटा एम्बुलेन्स बराबर कम्तीमा १९ देखि २० लाख रुपैयाँ यातायात कार्यालयमा दाखिला गर्नुपर्ने हुन्छ ।

जबकी, एम्बुलेन्स र शवबाहन सम्बन्धित स्थानीय तह आफैँले कर छुटमा किन्न सक्छन् । कान्छारामले बाँडेका जस्ता एम्बुलेन्सको मूल्य कर छुटसहित प्रतिगोटा ८ देखि ९ लाख रुपैयाँ पर्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved