
बीमा प्राधिकरणको सञ्चालकसमिति माथि कानुनी प्रश्न खडा भएको छ । बीमा ऐन २०७९ अनुसार बीमा प्राधिकरणको सञ्चालक समितिमा एकजना महिला राख्नुपर्ने व्यवस्था गरिएको छ। तर ऐनले ब्यबस्था गरे अनुसारको महिला सञ्चालक नहुँदा सञ्चालकसमिति माथि कानुनी प्रश्न खडा भएको हो।
बीमा ऐनको दफा ६ मा सञ्चालक समिति गठन बारेको ब्यबस्था छ । जसमा नेपाल सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष रहने, तथा सदस्यहरुमा अर्थ मन्त्रालयका १ जना सहसचिव, र कानुन मन्त्रालयका १ जना सहसचिव हुने उल्लेख छ। त्यस्तै जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका १ जना व्यक्ति र निर्जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका १ जना व्यक्ति पनि सञ्चालक हुने ब्यबस्था छ । यसरी विशेष ज्ञान भएका व्यक्ति नियुक्त गर्दा १ जना महिला हुनु पर्ने ब्यबस्था ऐनले गरेको छ । तर हालको सञ्चालक समितिमा महिला प्रतिनिधित्व नभएकोले सञ्चालक समितिमाथि नै कानुनी प्रश्न उठेको हो । हाल प्राधिकरणमा पाँच जना नै पुरुष सञ्चालक रहेका छन्।
बीमा ऐनले गरेको ब्यबस्था अनुसार बीमा समिति रुपान्तरण भएर ‘बीमा प्राधिकरण’ को रुपमा कामकारबाही अगाडी बढाईसकेको छ। तर सञ्चालक समितिमा एक महिला राख्नुपर्ने ब्यबस्थाको पालना अहिलेसम्म हुन सकेको छैन। औपचारिक रुपमै पुजाआज र उद्घाटन गरिएको प्राधिकरणको सञ्चालक पुरानै मोडेलबाट अगाडी बढाईएको छ।
सञ्चालकमा महिला नियुक्तिबारे अझै पनि छलफल समेत भएको छैन । समितिकै एक सञ्चालकले भने, ‘यो कुरा त छलफलमा उठेको जस्तो लाग्दैन।’ उनका अनुसार अहिले प्राधिकरण प्राधिकरणको अवधारणा युक्त कामकारबाहीको लागि आन्तरिक तयारी तथा नियमावलीको तिव्र तयारी भएको छ। तर, महिला सञ्चालक नियुक्तिबारे कुरा उठेको छैन।
प्राधिकरण तथा सञ्चालक समितिका अध्यक्ष सूर्य सिलवाल सञ्चालक समिति कानुन अनुसार नै रहेको बताउँछन्। उनका अनुसार अहिले रहेका सञ्चालकहरु बाहिरिएपछि नियुक्ति गर्दा महिला सञ्चालक नियुक्त गरिनेछ। ऐनमा नै बीमा समितिको सञ्चालक समिति स्वत प्राधिकरणको सञ्चालक समिति हुने उल्लेख गरेको हुँदा सोही सञ्चालक कायम गरिएको उनले बताए। साथै ऐनमा नियुक्ति गर्दा महिला सञ्चालक नियुक्ति गर्नुपर्ने भनेको र अहिले प्राधिकरणको सञ्चालकहरु पहिलै नियुक्त भई अहिले स्वत यता आएको हुँदा कानुनत अहिले नै महिला सञ्चालक थप्नै पर्ने भन्ने नहुने उनले बताए। उनले थपे, 'फेरी अहिलेका सञ्चालकलाई के आधारमा बाहिर जाउँ भन्ने ? अब या त उहाँहरुको राजिनामा आउनु प¥यो या त कार्यकाल सकिनु प¥यो।’