
बीमा ऐन आएको साढे दुई महिना वितिसक्दा पनि बीमा प्राधिकरणको नियामवली आउने टुङ्गो लागेको छैन । बीमा ऐन गत कार्तिक २२ गतेदेखि लागू भइसकेको छ । पुरानै भवनमा भए पनि बीमा ‘समिति’ खारेज हुँदै गर्दा ‘प्राधिकरण’को सुभारम्भ गरिएको थियो ।
हर्ष उल्सासका साथ थप स्वयत्त बन्दै प्राधिकरण बनेको बीमा क्षेत्रको नियामक निकायले ऐन कार्यन्वयनमा ल्याएको साढे २ महिना वितिसक्दा पनि नियामवली कहिले ल्याउँछ भन्ने अनिश्चित छ ।
१८-१८ वटा जीवन र निर्जीवन, २ वटा पुर्नबीमा र आउँदै गरेका ७ वटा लघुबीमा गरी कुल ४० वटा कम्पनीलाई नियमन गर्न बसेको निकायकै साढे दुई महिनादेखि आन्तरिक व्यवस्थापनसम्बन्धी नियम, विनियम, विधि–विद्यान छैन । जसकारण बजार व्यवस्थापन कसरी गर्न सक्छ भन्ने प्रश्न स्वभाविकै रुपमा उठ्छ ।
प्राधिकरणका अध्यक्ष सूर्य शिलवाल ड्राफ अन्तिम चरणमा पुगेको बताउँछन् । ‘अर्थ मन्त्रालय, कानुन मन्त्रालयको समेत प्रतिनिधित्व रहेको एउटा कमिटि छ, कमिटिले ड्राफ्ट बनाईरहेका छौँ’, अध्यक्ष शिलवालले भने, ‘पहिला ड्राफ्ट बनाउनुपर्छ, त्यसपछि कानुन विज्ञलाई छनोट गरेर नियामवलीलाई पुरै कानुनी भाषामा परिणत गर्नुपर्छ । त्यसपछि अर्थमन्त्रालय पेस गर्छाै ।’
नियामवली प्राधिकरणले ड्राफ्ट बनाइसकेपछि अर्थमन्त्रालय हुँदै मन्त्रिपरिषदमा जाने छ । मन्त्रिपरिषद्बाट पास भएपछि मात्रै कार्यन्वयमा आउँछ । ड्राफ्ट बनाउनकै लागि अझै कम्तिमा १५÷२० दिन लाग्ने शिलवालको भनाइ छ ।
नियामवली जस्तो संवेदनशिल कुरा निर्माण गर्दा केही समय लाग्नु स्वभाविक रहेको उनी बताउँछन् । यद्यपि प्राधिकरणको उद्घाटनका दिन कार्यकारी निर्देशक राजुरमण पौडेलले एक देखि डेढ महिनामै सम्पन्न हुने बताएका थिए ।