
गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारीहरुले आफुहरुसँग छलफल र सहमति गरेर मात्र कर्मचारी व्यवस्था प्रक्रिया टुंगो लगाउन माग गरेका छन् । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज हुँदै छन् ।
मर्जर प्रक्रिया अन्तर्गत कर्मचारीसँग सरोकार राख्ने विषयमा कर्मचारी संघसँग छलफल र सहमति गरेर मात्र मर्जर प्रक्रियालाई अन्तिम रुप दिन गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारीहरुले माग गरेका हुन् । गुराँस लाइफ इन्स्योरेन्स कर्मचारी संघ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघले आज संयुक्त मर्जर समितिलाई यसबारे ध्यानाकर्षण पत्र बुझाएको हो ।
६ बुँदे माग गर्दै गुराँस लाइफ इन्स्योरेन्स कर्मचारी संघका उपाध्यक्ष अर्जुन भट्ट र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघका अध्यक्ष हरि बहादुर खड्काले आज संयुक्त रुपमा संयुक्त मर्जर समितिलाई यसबारे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
यस्ता छन् २ संघको माग हरु :
१. कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको रोजगारी सुनिश्चित गरिनुपर्ने ।
२. कर्मचारीहरुको सम्मानजनक रुपमा समायोजन गरिनुपर्ने ।
३. कर्मचारीहरुले खाई–पाई आएको तलव भत्ता सुविधा एवं कर्मचारी विनियमावली एवं सामुहिक सौदावाजीको माध्यमबाट प्राप्त हुदै आएका सेवा सुविधा कटौती गर्न नहुने ।
४. मर्जर पश्चात कर्मचारीहरुले पाउने तलव भत्ता सुविधा र अन्य सेवा शर्तमा विभेद गर्न नहुने ।
५. कर्मचारीहरुका लागि सम्मानजनक÷न्यायोचित स्वेच्छिक अवकास (भीआरएस) को योजना ल्याउनुपर्ने ।
६. मर्जर पश्चात कम्पनीको नया“ बन्ने कर्मचारी विनियमावली बनाउंदा कर्मचारी संघको छलफल र सहमतिमा निर्माण गरिनुपर्ने ।
७. नेपाल बीमा प्राधिकरणले जारी गरेको कम्पनीहरुको गाभ्ने गाभिने र प्राप्ति गर्ने निर्देशिका र सो संग सम्बन्धित परिपत्रहरुमा व्यवस्था भए बमोजिमका कर्मचारी संग सम्बन्धित विषयको कार्यान्वयन गरिनुपर्ने ।
कर्मचारीहरुसँग सरोकार राख्ने विषयमा संघसँगको छलफल र सहमति विना कर्मचारीहरुको अहित हुने गरी मर्जरको अन्तिम रुपदिन प्रक्रिया अगाडि बढेमा आम कर्मचारीको हकहित संरक्षणार्थ श्रम ऐन कानूनले दिएको अधिकारको प्रयोग गर्दै कडा कदम चाल्न वाध्य हुने चेतवानी समेत संघहरुले दिएका छन् ।