मुद्दती निक्षेपमा थुप्रियो पुनर्बीमा कम्पनीको लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2024 | 03:12:08 PM मा प्रकाशित

laxmi  sunrise bank

पुनर्बीमा कम्पनीहरुले मुद्दती निक्षेपबाहेक अन्य क्षेत्रमा लगानी बढाउन नसकेको पाइएको छ ।

कम्पनीहरूले लगानी विविधीकरण गर्न नसक्दा विभिन्न शिर्षकबाट जम्मा भएको रकम बैंकको निक्षेपमा केन्द्रित भएको हो । उनीहरूको अधिकांश लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपपछि ऋणपत्र र शेयर बजारमा मात्र केन्द्रित छ ।

कम्पनीहरूकै सुझावअनुसार बीमा प्राधिकरणले केहि वर्ष अघिमात्र लगानी निर्देशिका परिवर्तन गरी विभिन्न क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था गरेको थियो । तर, निर्देशिकाअनुसार कम्पनीहरूले लगानी गर्न सकेनन् । फलस्वरुप उनीहरू मुद्दती निक्षेपमा केन्द्रित भए ।

तत्कालिन बीमा समितिले २०७५ चैतमा जारी गरेको निर्देशिकामार्फत बीमा कम्पनीहरूलाई मुद्दती निक्षेप र शेयरका अतिरिक्त घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटनलगायतका पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बाटो खोलेको थियो । तर, निर्देशिकाले खुला गरेका नयाँ क्षेत्रमा बीमा कम्पनीहरू आकर्षित हुन सकेको देखिँदैन ।

नेपाल बीमा प्राधिकरणका अनुसार पुनर्बीमकहरुको लगानी वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपमा थुप्रिएको छ । पुनर्बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ३७ अर्ब बढी लगानी गरेका छन् । नेपालमा सञ्चालित २ वटा पुनर्बीमकले चालू आर्थिक वर्ष २०८०/ ०८१ को तेस्रो त्रैमाससम्ममा ३७ अर्ब २० करोड ८३ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । 

जसमध्ये नेपाल पुनर्बीमा कम्पनीले २० अर्ब ६२ करोड ६२ लाख र हिमालयन रिइन्स्योरेन्सले १६ अर्ब ५८ करोड २१ रुपैयाँ लगानी गरेको छ  ।

ती कम्पनीहरुको सबैभन्दा धेरै लगानी वाणिज्य बैंकको मुद्दती निक्षेपमा छ । पुनर्बीमकको कुल लगानीको ७८.०५ प्रतिशतभन्दा बढी मुद्दती निक्षेपमा छ । मुद्दती निक्षेपमा नेपाल पुनर्बीमाको १५ अर्ब ३१ करोड १० लाख र हिमालयन रिको १३ अर्ब ७३ करोड ३१ लाख रुपैयाँ छ । 

यसैगरी, विकास बैंकमा नेपाल पुनर्बीमाको लगानी १ अर्ब ९४ करोड रुपैयाँ छ तर हिमालयन रिको चाहिं छैन । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीले धितोपत्र बजारको सूचीकृत कम्पनीको शेयरमा ५९ करोड र हिमालयन रिले ९० करोड  रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै अर्कोतर्फ, नेपाल पुनर्बीमा कम्पनीले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको अग्राधिकार शेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ८२ करोड ६३ लाख र हिमालयन रिले १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ लगानी गरेका छन्  । यस क्षेत्रमा दुबै कम्पनीको कुल  लगानी ३ अर्ब १६ करोड रुपैयाँ छ । 

अन्य संस्थापक शेयरमा नेपाल पुनर्बीमा कम्पनीको १० करोड २६ लाख र हिमालयन रिको ५८ करोड गरी कुल ६८ करोड २४ लाख रुपैयाँ लगानी छ । त्यसो त सूचीकृत नभएका अन्य पब्लिक कम्पनीमा नेपाल पुनर्बीमा कम्पनीको ५० करोड ७२ लाख रुपैयाँ लगानी तर हिमालयनको भने कुनै लगानी छैन । 

उता नेपाल सरकार, प्रदेश सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा नेपाल पुनर्बीमाको ३० करोड लगानी भने हिमालयन रिको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved