बीमा कम्पनीहरुबाट दाबी भुक्तानी नपाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीबाट दाबी भुक्तानी नपाएका बीमितहरुको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको चैत महिनासम्म दाबी भुक्तानी नपाएका १६६ जना बीमितले प्राधिकरणमा उजुरी दिएका छन् । उनीहरुले दाबी भुक्तानी नदिएको गुनासो गर्दै प्राधिकरणमा बीमा कम्पनीहरु विरुद्ध उजुरी दिएका हुन् ।
उसो त दाबी भुक्तानी सन्दर्भमा बीमा कम्पनीविरुद्ध बीमितले उजुरी दिनु स्वभाविक नै हो । तर, यस्तो प्रकारको उजुरीको ग्राफ जुन तरिकाले उकालो लाग्दै छ, त्यो भने अस्वभाविक छ । हरेक वर्ष यस्तो उजुरी बढदै गएको तथ्यांकलेसमेत देखाएको छ । तर, चालू आवमा यसको यस्तो बृद्धिदर अझै ठूलो छ ।
प्राधिकरणका अनुसार आव २०७८/०७९ मा १५५ वटा उजुरी परेको थियो । आव २०७९/०८० मा यस्तो उजुरीको संख्या बढेन । सो वर्ष पनि १५५ वटा मात्रै उजुरी दर्ता भयो । तर, चालू आवको नौ महिनामा नै १६६ वटा उजुरी पर्नुलाई बीमा विज्ञहरुले अस्वभाविक मानेका छन् ।
सर्वसाधारणले बीमा गर्नुको मूख्य उद्धेष्य भनेको सम्भावित क्षतिलाई कम गर्नका लागि हो । अर्थात कुनै क्षतिबाट हुने नोक्सानी बीमा कम्पनीबाट पाइन्छ भनेर नै हो । तर, बीमा कम्पनीहरुले यसरी दाबी भुक्तानी समयमा नदिँदा त्यसले समग्र बीमा क्षेत्रलाई असर पुर्याउँदछ ।
बीमा विज्ञहरु यसरी दाबी भुक्तानीको विषयलाई लिएर प्राधिकरणमा उजरी बढ्दै जानुले बीमा कम्पनीहरु जवाफदेहि छैनन भन्ने सन्देश बजारमा जाने बताउँछन् ।
बीमितले आफूले माग गरेको बीमा दावी भुक्तानी नपाए, कम क्षतिपूर्ति पाए वा अन्य विवाद सृजना भए प्राधिकरणमा सिधै उजूरी गर्न मिल्ने कानूनी व्यवस्था छ ।
उता बीमा प्राधिकरणले भने प्राथमिकताका आधारमा समयमै उजुरीको सम्वोधन गर्ने हो भने यस्ता समस्या निराकरण हुने देखिन्छ । बीमाको दायरा फराकिलो पार्दै जाने र जनतालाई बीमा सचेतना जगाउने नीति लिएको प्राधिकरणले बीमकलाई पनि यस्ता समस्या बारे सजग तुल्याउन आवश्यक छ ।
यता प्राधिकरणले बीमाको सचेतना जगाउने भन्दै लागि परेको छ । गाउँ गाउँमा गएर नागरिकलाई सचेतना दिने नीति लिएको छ । प्राधिकरणले लिएको सो नीतिलाई साथ दिने काम बीमा कम्पनीको पनि हो । तर, कम्पनीहरुले त्यसको ठ्याक्कै उल्टो गर्ने गरेका देखिन्छ ।
बीमा कम्पनीहरुले सार्वजनिक रुपमा नै दाबी भुक्तानी नदिने चेतावनी समेत दिने गरेका छन् । विज्ञप्तिनै निकालेर दाबी भुक्तानी नदिने चेतावनी दिने बीमा कम्पनीहरुसँग जनताले के अपेक्षाका साथ बीमा गर्ने हो ? यसको जवाफ न कम्पनीहरुसँग छ न प्राधिकरणसँग नै छ ।
उसो त प्राधिकरणले यस्तो गैर जिम्मेवार चेतावनी फिर्ता लिन निर्देशन पनि दिन्छ । तर, प्राधिकरणलाई कम्पनीहरुले खासै टेढने गरेका छैन् ।