बीमा प्राधिकरण र बीमा अभिकर्ता संघ बीच अन्तरक्रिया, ‘डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर अगाडि बढौं’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2024 | 04:13:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणद्वारा पेशागत बीमा अभिकर्ता संघसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोजित छलफल एवम् अन्तरक्रिया कार्यक्रमा उनले बीमा अभिकर्ताको डिजिटल पाटोबाट क्षमता अभिवृद्धिमा सहयोग गर्न तयार रहेको बताए।

अध्यक्ष सिलवालले भने, “संसारमै डिजिटलाइजेशन तीब्र गतिमा अघि बढिरहेको छ, नवीनतम् प्रविधिलाई अवलम्बन गर्नै पर्छ, पेशागत बीमा अभिकर्ता संघलाई डिजिटल पाटोबाट सहयोग गर्न प्राधिकरण तयार छ ।”

बीमामार्फत प्रत्येक व्यक्तिको आर्थिक सुरक्षण, बीमितको हित र बीमा व्यवसायको विश्वसनीयता अभिवृद्धिका लागि सामूहिकरूपमा लाग्नुपर्ने उल्लेख गर्दै  अध्यक्ष सिलवालले बीमा ऐन, नियम, निर्देशिका र मार्गदर्शनको सबैले पालना गर्नुपर्ने बताए । 

अध्यक्ष सिलवालले बीमा अभिकर्तालाई आइपर्ने समस्या छलफलबाट समाधान गर्न प्राधिकरण खुला रहेको उल्लेख गर्दै बीमा सम्बन्धी काम कारवाहीका सम्बन्धमा सुझाव दिन सहभागीहरुलाई आग्रह गरेका थिए ।

प्राधिकरणको सञ्चालक समितिका सदस्य कपिल देव ओलीले बीमा ऐन, नियम तथा निर्देशिका र अन्तरराष्ट्रिय अभ्यासका आधारमा समग्र बीमा क्षेत्रलाई अगाडि बढाउन सम्बद्ध सबैपक्ष लाग्नुपर्ने बताए ।

त्यस्तै, प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमा अभिकर्ता सम्बन्धी कानूनी व्यवस्था, अनलाइन परीक्षा प्रणाली, बीमालेख बिक्री गर्दा देखिएका समस्याहरू लगायतका विषयमा आफ्नो धारणा  राखेका थिए । 

यसैगरी, प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा व्यवसायको प्रवर्द्धन र बीमाप्रतिको विश्वसनीय अभिवृद्धिमा बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण रहँदै आएको बताए ।

प्राधिकरणका अर्का निर्देशक पूजन ढुङ्गेलले प्राधिकरणले जारी गरेको डिजिटल बीमालेख निर्देशन बीमा अभिकर्तालाई अप्ठ्यारो पार्न नभई अभिकर्तालाई विश्वसनीय बनाउन, बीमा प्रक्रियालाई सरल बनाउन र बीमाको पहुँच बढाउन आएको बताए ।

कार्यक्रममा नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक पौडेल र पेशागत बीमा अभिकर्ता सङ्घका महासचिव ओम केसीले बीमा अभिकर्ताका काम, विद्यमान समस्या र समाधानका उपाय लगायतका विषयमा छुट्टाछुट्टै प्रस्तुती दिएका थिए ।

कार्यक्रममा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र पेशागत बीमा अभिकर्ता संघका पदाधिकारीहरूको सहभागिता थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved