
रिलायबल लाइफ इन्स्योरेन्सले नेपाली क्रिकेट खेलाडीहरुको बीमा गरिदिने भएको छ । कम्पनीले सम्पूर्ण खेलाडी, कोच तथा पदाधिकारीहरुको बीमा गरिदिने भएको हो ।
अमेरिका र वेष्टईन्डिजमा जारी टी २० विश्वकप खेलमा सहभागी भएका खेलाडी र पदाधिकारीहरुको जनही १० लाख रुपैयाँ बीमांकको बीमा गर्ने कम्पनीले गर्ने बताएको छ। कम्पनीले खेलाडीहरुलाई प्रोत्साहन स्वरुप उक्त रकम बराबरको म्यादी जीवन बीमा गर्न लागेको हो ।
यसका साथै कुनै पनि चोट पटक लागेर खेलाडीहरु अस्पताल भर्ना हुन परेको खण्डमा भर्ना भएको प्रत्येक दिनको ४ हजार रुपैयाँसमेत कम्पनीले उपलब्ध गराउने छ ।
यसैगरी, जारी खेलमा नेपाली टिम दोस्रो चरणमा प्रवेश गरेमा जारी विश्वकपमा सहभागी १५ जना खेलाडीलाई जनही ५० लाख रुपैयाँ कम्पनीले पुरस्कार दिने घोषणासमेत गरेको छ ।
मंगलबार राति नेपाल र नेदरल्याण्ड बीचको प्रतिस्पर्धामा नेपाल ६ विकेटले पराजित भएको छ । अब, नेपालले श्रीलङ्का, बङ्गलादेश र दक्षिण अफ्रिकासँग क्रमशः जुन १२, जुन १५ र जुन १७ तारिखमा प्रतिस्पर्धा गर्ने छ ।