कोरोना र कृषि बीमामा सर्वसाधारणले पाएको सास्तिका कारण त्यसको प्रत्यक्ष असर जीवन बीमा क्षेत्रमा परेको छ । कोरोना र कृषि बीमा गरेका लाखौँ बीमितले दाबी भुक्तानी रकम नपाएपछि त्यसको प्रत्यक्ष असर जीवन बीमामा परेको सम्बद्ध अभिकर्ताले गुनासो गरेका छन् ।
सरकारले रकम निकासा नगरेपछि कोरोना र कृषि बीमाका लाखौं बीमितले दाबी भुक्तानी पाएका छैनन् । कोरोनातर्फ ११ अर्ब रुपैयाँ बीमितले पाउँन बाँकी छ । त्यो सबै सरकारको दायित्व हो ।
त्यसैगरी, कृषि तथा पशुपंक्षी बीमा अन्तर्गतको अनुदान वापतको २ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बीमा कम्पनीहरुले पाउन बाँकी छ । कम्पनीहरुले यसतर्फको रकम पनि समयमा नपाउँदा कृषकले पाउन सकेका छैनन् । तथापी कम्पनीहरुले किसानलाई अधिकांश भुक्तानी भने दिएको अवस्था छ । तर, अझै केहि किसानले भने कम्पनीबाट दाबी भुक्तानी पाउन सकेका छैनन् ।
यस्ता समस्या कायमै रहँदा आम जनमानसमा बीमाप्रतिको नकारात्मक भाष्य निर्माण भएको अभिकर्ता केदारनाथ अधिकारीको भनाइ छ । स्थानीयस्तरमा गएर जीवन बीमाको बारेमा जागरण ल्याउन सक्रिय रहेका बीमा अभिकर्ताहरु कोरोना र कृषि बीमाको कारण उत्पन्न अवस्थाले थप समस्या सृजना भएको बताउँछन् ।
समयमै दाबी भुक्तानी हल नहुँदा समग्र बीमाको दायरा नै खस्किएको अभिकर्ताहरुको भनाइ छ । सरकारले समयमा नै कोरोना र कृषि बीमाको भुक्तानी नदिएकाले समग्र बीमा व्यवसायप्रति नै नकारात्मक धारण विकसिन हुन पुगेकोे पेशागत बीमा अभिकर्ता संघका अध्यक्षसमेत रहेका अधिकारी बताउँछन् । उनले बीमा प्रस्ताव राख्दा कतिपय मानिसहरुले कोरोना र कृषि बीमाको कुरालाई जोडने गरेको पनि बताए ।
उनी लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालका अभिकर्ता हुन् । उनी भन्छन्, 'कोरोना र कृषि बीमा गरेका बीमितले दाबी भुक्तानी पाएका छैनन्,त्यसले गर्दा हामीलाई व्यवसायलाई निरन्तरता दिन र बीमा बारे बुझाउन समस्या छ । कतिपयले सरकारले १ लाख रुपैयाँ दाबी भुक्तानी त दिएको छैन, तपाईहरु कसरि ५० लाख वा १ करोड रुपैयाँ दिनुहुन्छ भनेर प्रश्न गर्छन् ।’
उनले बीमाको दायरा घट्नुको मूख्य कारण पनि यहि भएको बताए ।
यस्तै उनी बीमितले पाउनुपर्ने दाबी रकमहरु सरकारले छिटोभन्दा छिटो भुक्तानी दिनुपर्नेमा जोड दिन्छन् । त्यसो त, पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ नेपालका सहसचिव राज अधिकारी पनि कोरोना तथा कृषि बीमाको भुक्तानीमा बिलम्ब हुँदा बीमा बजार प्रभावित भएको बताउँछन् । सरकारले यसको भुक्तानीतर्फ अविलम्ब पहल गर्नुपर्ने भन्दै उनले अन्यथा समग्र बीमाप्रति नै नकारात्मक धारणा विकास हुने सम्भावना रहेको बताए ।