बीमा प्राधिकरणमा २ उप-कार्यकारी र ३ निर्देशक थप्ने विषय बोर्डमा छलफल : निस्किएन निचोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2024 | 07:46:28 PM मा प्रकाशित

नेपाल बीमा प्राधिकरणमा २ उपकार्यकारी निर्देशक र ३ जना निर्देशक पदको लागि कोटा थप गर्ने विषयबारे आज छलफल चलेको छ । प्राधिकरणको  बिहीबार बसेको सञ्चालक समितिको बोर्ड बैठकमा यस विषयले प्रवेश पाएको हो । 

आज साँझ ५ बजे सञ्चालक समितिको बोर्ड बैठक बसेको थियो । सोहि बैठकमा कोटा थप्ने एजेण्डाले पनि प्रवेश पाएको सञ्चालक समितिका एक सदस्यले बिजपाटीलाई बताए । उनका अनुसार उक्त विषय एजेण्डामा परे पनि निष्कर्ष भने निस्किएको छैन। अर्काे बैठकमा यस विषयको निचोड निष्कने सम्भावना रहेको उनले जानकारी दिए । 

अहिले बोर्ड सदस्यहरुले पनि अध्ययन गर्नुपर्ने भएकाले सो विषयमा छलफल मात्र भएको उनले जाकारी दिए । तर, यता अर्थ मन्त्रालयले भने कोटा थप्ने विषयमा असहमती देखाएको स्रोतले जनाएको छ । सोहि कारण पनि यस विषयमा छलफल मात्र भएको जनाइएको छ । 

नेपाल प्रशासनिक कर्मचारी कलेज (स्टाफ कलेज) ले २ वर्षअधि नै २ उप-कार्यकारी, ३ निर्देशक, १ उपनिर्देशक र १ सहायक स्तरको तथ्यांकशास्त्रीका लागि कोटा थप गर्नुपर्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । स्टाफ कलेजले तत्कालिन बीमा समितिको संगठन र व्यवस्थापन सर्वेक्षण रिपोर्ट समितिमा बुझाएको थियो । सोहि रिपोर्टमा उक्त पदहरुको कोटा थप गर्नुपर्ने उल्लेख थियो । 

प्राधिकरणमा हाल उपकार्यकारी निर्देशकको कोटा छैन। त्यसैगरी, निर्देशकको कोटा ४ वटा छ । अब ३ वटा थपिएको खण्डमा निर्देशकको कोटा ७ पुग्नेछ । 

यता, बीमा प्राधिकरणका कर्मचारीहरुले भने उप-कार्यकारी निर्देशकको कोटा थप्ने विषयको विरोध गर्दै आएका छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved