चालू आर्थिक वर्षको ११ महिनामा लघु जीवन बीमकले १३ करोड बढी रुपैयाँको व्यापार गरेका छन् । हाल सञ्चालनमा रहेका ३ लघु जीवन बीमकले चालु आवको जेठ मसान्तसम्म १३ करोड २७ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् ।
जसमध्ये सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफले ७ करोड ८७ लाख रुपैयाँको व्यापार गरेको छ । त्यसैगरी, गार्डियन माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले क्रमशः ३ करोड २९ लाख र २ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
लघु जीवन बीमा अन्तर्गत हाल ७७ हजार ३२० वटा बीमालेख सक्रिय छन् ।
यी ३ कम्पनीले जेठ महिनामा मात्रै २४ हजार ३३६ वटा बीमालेख जारी गरेका छन् । जसमध्ये बसैभन्दा धेरै क्रेष्टले १४ हजार ३३१ वटा बीमालेख विक्री गरेको छ । त्यसैगरी, जेठ महिनामा गार्डियनले ६ हजार ५४१ र लिबर्टीले ३ हजार ४६४ वटा बीमालेख विक्री गरेको छ ।
उक्त बीमालेखहरु विक्रीबाट जेठ महिनामा ३ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।