वैदेशिक रोजगारीको लागि जारी गरिने म्यादी बीमा फेरि विवादमा तानिएको छ।
केहि जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय बढाउने उद्धेष्यले कमिसनका लािग अस्वस्थ प्रतिस्पर्धा गरेकाले म्यादी जीवन बीमामा अन्योलको अवस्था सृजना भएको छ ।
वैदेशिक रोजगारमा श्रमिक जाँदा रोजगारदाता र श्रमिक बीच भएको श्रम सम्झौताभन्दा ६ महिना बढी अवधिका लागि यो बीमालेख जारी गर्नुपर्छ।वैदेशिक रोजगारीमा गएका कामदारले अनिवार्य वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्छ ।
म्यादी बीमामा धेरै किसिमका समस्या आएको भन्दै पुरानै तरिकाले पुलको व्यवस्था गरेर अगाडी बढ्नुपर्ने सुझाव सरोकारवालाहरुले दिएका छन् । तर केहि कम्पनीले अस्वस्थ प्रतिस्पर्धा गरेकाले पुलको पुरानो व्यवस्थामा फर्किन नहुने एक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ले बताए।
उनले भने, “म्यादी बीमामा अस्वस्थ प्रतिस्पर्धा गर्नेलाई कारबाही गर्नुको साटो उल्टै केहि गलत कम्पनीलाई जोगाउन फेरि पुलको व्यवस्थामा फर्किनु गम्भिर त्रुटी हो।“
ती सीईओकाअनुसार पछिल्लो समय बजारमा नाम चलेका दुई चार वटा बीमा कम्पनीले कारोबार बढाउने नाममा केहि म्यानपावर कम्पनीलाई उधारो बीमा बेच्दा बीमा कम्पनीमा नै समस्या आएको छ। रातारात कमाउने नियतका साथ गलत गर्ने कम्पनी फेरि अप्ठ्यारोमा परे भन्दैमा पुरानो व्यवस्थामा फर्किनु हुँदैन।
लाग्नेभन्दा कम शुल्क लिने, कमिसन पनि बढी दिने तथा बीमा पनि गरिदिने जस्ता अस्वस्थ गतिविधि बढेको भन्दै केहि कम्पनीहरुले म्यादी बीमामा विगतमा जस्तै ’पुल’ को व्यवस्था लागू गर्नुपर्ने आवाज उठाएका छन्। यस अगाडि पनि म्यादी बीमामा अस्वस्थ प्रतिस्पर्धा बढेपछि २०७५ माघ १ गतेदेखि शुरु गरिएको पुलको व्यवस्था २०७९ साउन १ गते बन्द गरिएको थियो।
पुलको व्यवस्था खारेज गरिएसँगै प्रविधिलाई आत्मसाथ गर्ने बीमा कम्पनीहरुले म्यादी जीवन बीमामा राम्रो कारोबार गरेको अवस्था पनि छ। नेपाल बीमा प्राधिकरणले आफ्नो तरिकाले व्यवसाय विस्तार गर्न दिएपछि प्रविधिको उच्च प्रयोग गर्ने कम्पनीहरुले म्यादी जीवन बीमामा राम्रो कारोबार गरिरहेका छन् ।
यसबारे प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बीमा प्राधिकरणबाट म्यादी बीमाको विषयमा कुनै पनि निर्णय नभएको बताएका छन्। उनले भने,‘ अहिलेसम्म आधिकारिक निर्णय भएको छैन, थप बुझेर खबर गरौंला।’