
मुलुकमा कोराना महामारी अहिले छैन । तर,राज्यबाट नागरिकले कोरोना बीमा बापत लिनुपर्ने भुक्तानी भने अझै बाँकी छ । अझै पनि सरकारमा भइरहने उथलपुथलले कतै कोरोना बीमा बापतको रकम भुक्तानी भइहाल्छ कि भन्ने झिनो आश भने कोरोना पीडितहरुलाई अझै छ ।
कोरोना संक्रमण शुरु हुँदादेखि हालसम्म आइपुग्दा ५ जना अर्थमन्त्री बनेका छन् ।तर, ती पाँचै जनाले कोरोना बीमा बापतको रकम भुक्तानी गर्न कुनै चासो देखाएका छैनन् । त्यतिमात्र होइन, रकम भु्क्तानीको विषयमा राजनीतिक दलदेखि सदनमा समेत यसको चर्चा हुन छाडेको छ ।
कोरोना बीमालेख जारी गर्ने निर्णयकर्ता तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडा थिए । उनको कार्यकालपछि पनि अर्थमन्त्रीमा विष्णु पौडेल,जनार्दन शर्मा, वर्षमान पुन, प्रकाशरण महतले कार्यभार सम्हालिसकेका छन् ।
अहिले पुन : अर्थमन्त्रीमा पौडेलको ‘इन्ट्री’ भएको छ । जनतालाई स्थायीत्वको नारा दिएर नेपाली कांग्रेस र नेकपा (एमाले) बाट बनेको यो सरकारले भुक्तानी दिने वातावरण तयार गर्छ वा गर्दैन त्यो भने चासोको विषय छ । अझ रोचक के छ भने, कोरोना बीमाको शुरुवात गरेका पूर्व अर्थमन्त्री खतिवडा केहिदिन अघिमात्र प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार कोरोना बीमातर्फ हालसम्म ६४ हजार ८६८ जना बीमितको ६ अर्ब १० करोड १५ लाख रुपैयाँ भुक्तानी भएको छ । अझै १ लाख १९१ जना बीमित करिब ९ अर्ब ७२ करोड रुपैयाँ भुक्तानीको पर्खाइमा छन् ।
कोरोना बीमालेख अन्तर्गत १७ लाख ५८ हजार ३४३ जनाले बीमा गराएका थिए । १ लाख ६५ हजार ५९ जनाले बीमितले दावी भुक्तानीको माग गरेका थिए । उक्त भुक्तानी माग अनुसार नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, नेपाल पुनर्बीमा कम्पनी र अन्य निर्जीवन कम्पनीहरुले जम्मा १५ अर्ब ८२ करोड २१ लाख रुपैयाँ दिनुपर्ने थियो ।
उक्त रकममध्ये ३ अर्ब ५० करोड रुपैयाँ प्राधिकरण, पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरुको दायित्वमा थियो । बाँकी १२ अर्ब ३२ करोड बराबर रकम नेपाल सरकार अर्थात् अर्थ मन्त्रालयले दिनुपर्ने रकम हो । तर सरकारले हालसम्ममा १ अर्ब रुपैयाँ मात्र भुक्तानी गरेको छ । तत्काल कोरोना बीमा बापतको भुक्तानी पाउने संम्भावना कम रहेको अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता उत्तमकुमार खत्रीले बताए ।
उनले भने,‘ सरकारले यसतर्फको भुक्तानी दिनुपर्ने दायित्व धेरै छ,स्रोतको यतिबेला चाप रहेको हुँदा रकम पाउने सम्भावना अहिले देखिन्न ।’ कोरोना संक्रमणको समयमा नागरिकलाई ‘क्वारेन्टाइन’ को व्यवस्थापन, नि : शुल्क कोरोना भ्याक्सिनलगायत शिर्षकमा सरकारले खर्च गरेको हुँदा बीमा भुक्तानीको संम्भावना टरेको उनको भनाइ छ ।
तर यसबारेमा बीमा प्राधिकरणले अर्थमन्त्रालयसँग समन्वय गरिरहेको बताउँदै आएको छ । कोरोना बीमाको दाबी भुक्तानीका लागि अर्थ मन्त्रालयमा पत्राचार भइरहेको प्राधिकरणका प्रवक्ता सुशिलदेव सुवेदीले बताउँछन् । उनी भन्छन्,‘भुक्तानी दिने वा नदिने अर्थमन्त्रालयसँग सम्बन्धीत छ, हाम्रोमा केहि छैन तर पनि हाम्रोतर्फबाट समन्वय भने भइरहेको छ।’
बीमा कम्पनीहरुले कोरोना कोरोना बापतको भुक्तानी सरकारले यथाशिघ्र दिनुपर्ने बताउँदै आएका छन् । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री कोरोना बीमा बापतको रकम नपाउँदा नागरिकहरूमा बीमाप्रति नकारात्मक सन्देश गएको बताए ।
उनले भने,‘ महामारी जस्तो समयमा जोखिम बहन गर्न गरेको बीमामा राज्यले नागरिकमाथि मजाक गर्यो, यसले बीमाप्रति नकारात्मक सन्देश गयो।’