राष्ट्रिय बीमा कम्पनी ११औं वर्षमा प्रवेश गरेको छ ।उक्त कम्पनी १० वर्ष पुरा गरी शुक्रबारदेखि ११औं वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललगायतले शुभकामना दिएका छन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले देशको बीमा व्यवसायको विकास, विस्तार एवं सुदृढीकरणका साथै जोखिमको वित्तीय सुरक्षण तथा दीर्घकालीन पूँजी र्मिाण गर्न बीमा कम्पनीले पुर्याएको योगदान प्रशंसनीय भएको बताएका छन् ।
विसं २०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रूपमा स्थापना भएपश्चात् राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ बमोजिम राष्ट्रिय बीमा संस्थान स्थापना भएको थियो । राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा विभागलाई सरकारले विसं २०७१ बैशाख २३ गतेको निर्णयानुसार अलग संगठित संस्थाको नाममा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको थियो ।
कम्पनीले विधिवत रुपमा २०७१ साल साउन १८ गतेदेखि कारोबार सञ्चालन गरेको थियो ।आगामी दिनहरूमा अझ भरपर्दो स्तरीय र विश्वसनीय बीमा सेवा प्रदान गर्दै जाने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।
उक्त कम्पनीमा सरकारको ४१.०३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १९.३७ प्रतिशत, नेपाल बैंकको ९.६० प्रतिशत गरी कुल ७० प्रतिशत संस्थाप समूहको शेयर स्वामित्व छ भने सर्वसाधारण समूहको ३० प्रतिशत शेयर स्वामित्व छ ।कम्पनीको चुक्तापूँजी २६ करोड ६६ लाख रुपैयाँ छ ।