आइएमई लाइफ इन्स्योरेन्सले उप प्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ। अमात्यले साउन १ गतेदेखि र खिलेन्द्र पौडेलेले भदौ ५ गतेदेखि उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन्।
पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट बिदा भई आइएमई लाइफ इन्स्योरेन्समा प्रवेश गरेका हुन्। कम्पनीको उप प्रमुख कार्यकरी अधिकृतमा नियुक्त हुनुअघि अमात्य भने सोही कम्पनीको नायव महाप्रबन्धक पदमा कार्यरत थिए।
जीवन बीमा व्यवसायबाट नै बीमा क्षेत्रमा प्रवेश गरेका अमात्यले तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा पनि स्थापना वर्ष २०६५ साल देखि २०७४ सम्म काम गरेका थिए। उनी सहायक महाप्रबन्धक पदबाट सूर्य लाइफबाट बिदा भएर आइएमई लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा प्रवेश गरेका थिए।
अमात्य कम्पनीको स्थापना वर्ष २०७४ देखि नै कम्पनीको प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत छन्। उप प्रमुख कार्यकारी अधिकृत अमात्यसँग कार्यालय प्रशासनको साथै बीमालेख विकास, जोखिमांकन, पुनर्बीमा, बीमांकी मूल्यांकन, दाबी व्यवस्थापन, बीमालेख सेवामा तीन दशकभन्दा लामो अनुभव छ। उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन्।
त्यस्तै, आईएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र पौडेल, रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशिय कारोबारमा दख्खल राख्छन्। आइएमई ग्रूपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनी सेक्युरिटिज, आइएमई डिजिटल सलुसन्स लगायतका कम्पनीहरुमा पौडेलले सञ्चालकको भुमिका निर्वाह गरिसकेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए(फाइनान्स) गरेका पौडेलले भारतको अहमदावादस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेशियाको इन्स्टिच्युट अफ ब्यांकर्सबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशिय लगानी व्यवस्थापनका विषयमा एक्जिक्युटिभ कोर्स गरेका छन्। यसका साथै, पौडेलले अमेरिका स्थित हार्भड केनेडी स्कुलबाट पोलिसि डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स समेत गरेका छन्।