बीमा गर्दा बीमालेखका प्रावधान र शर्तहरु राम्रोसँग पढ्नुपर्छ : अध्यक्ष सिलवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2024 | 04:52:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्दा बीमालेखका प्रावधान र शर्तहरु राम्रोसँग पढ्नु पर्ने बताएका छन् ।

साथै जारी हुने बीमा लेख आफ्नो हितमा छ कि छैन बुझ्नुपर्ने बताउँदै उनले झुटो बोलेर वा सत्यतथ्य लुकाएर गरेको बीमाको दाबी लाग्दैन भन्ने थाहा पाउनुपर्ने पनि बताए । 

बीमा प्राधिकरणको आयोजनामा बुधबार मधेश प्रदेशको वीरगञ्जमा आर्थिक पत्रकारसँग बीमासम्बन्धी समसामयिक विषयको कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन्।उनले भने, ‘विदेशी बीमा कम्पनीमा बीमा गर्नु गैरकानूनी हो, गर्न मिल्दैन।’ केहि बीमालेखमा समस्या रहेकोबाहेक बीमा कम्पनीहरुले लाखौं दाबी भुक्तानी दिएको पनि उनले बताए । 

उनले नागरिकको हित हुने गरि बीमाका बारेमा बोल्न र सत्यतथ्य लेख्न पनि पत्रकारहरुलाई आग्रह गरेका छन्। अध्यक्ष सिलवालले सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिएकाले स्थानीय सरकारले त्यसमा अनुदान थप्नुभन्दा विपन्न तथा गरिब वर्गको बीमा गर्नु उपयुक्त हुने बताए। उनले भने, ‘बीमा कम्पनीहरु ऐन–नियम बमोजिम चल्नुपर्छ, जबाफदेही बन्नुपर्छ, ऐन–नियमविपरीत जाने कम्पनीहरुले दण्ड सजाय भोग्नुपर्छ।’

कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विद्यमान अवस्था र बीमाको विकास एवं विस्तारमा पत्रकारको भूमिकाको बारेमा प्रस्तुति दिएका थिए।

कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले देशको भूगोलअनुसार बीमालेख ल्याउनुपर्ने, मधेश प्रदेशमा न्यून रहेको बीमाको पहुँच बढाउन जोड दिनुपर्ने, सीमापारिका बीमा कम्पनीहरुमा बीमा हुन नदिन विशेष ध्यान दिनुपर्ने, बीमा कम्पनीहरुले सञ्चार माध्यममार्फत बीमा सचेतना अभिवृद्धिका लागि बजेट छुट्याउनुपर्नेलगायतका धारणा राखेका थिए।

साथै, उनीहरुले बीमा गर्न सजिलो तर दाबी भुक्तानी पाउन बीमितले निकै दुःख पाउने गरेको, कोरोना बीमाको बाँकी दाबी भुक्तानी अझै नभएको र बीमाप्रतिको आकर्षण बढाउन सचेता अभिवृद्धि आवश्यक भएको पनि बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तथा पदाधिकारी, विभिन्न सञ्चार माध्यमका पत्रकार र विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखको सहभागिता थियो।कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयकी प्रमुख प्रीति देवले गरेकी थिइन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved