बीमाको दाबी भुक्तानी सरल र छिटो बनाउन सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2024 | 09:45:10 AM मा प्रकाशित

laxmi sunrise bank

केहि दिनअघि मात्र आएको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा बीमाको दाबी भुक्तानी सरल र सहज तरिकाले यथासम्भव छिटो गरिने सहमति भएको छ ।

बाढीपहिरोका कारण भएको अकल्पनीय क्षति पछि नेपाल बीमा प्राधिकरणमा आयोजित छलफलमा जनधनको क्षतिमा बीमाको दाबी भुक्तानीका लागि यस्तो सहमति भएको प्राधिकरण तथा बीमकहरूको भनाइ छ ।

यसबारेमा प्राधिकरणका निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदीले छिटो भुक्तानी दिन दाबी भुक्तानी प्रक्रियालाई सरलीकृत योजना अनुरुप सकेसम्म छिटो दाबी भुक्तानी कसरी दिन सकिन्छ भनेर हामीले बीमकहरूसँग छलफल गरिएको र सारमा सोही विषयमा सहमति भएको बताएका छन् ।

उनका अनुसार दाबी भुक्तानीसम्बन्धी कागजात माग गर्दा प्रहरी प्रतिवेदन र सम्बद्ध निकायको सिफारिशलगायत कागजात आवश्यक नपर्ने व्यवस्था मिलाउने प्रारम्भिक सहमति भएको छ । 

यसैगरी, दाबी भुक्तानीका लागि बीमा सर्वेयरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेश गर्न निर्देशन जारी गर्ने सहमति भएको छ ।प्राधिकरणले दैनिक रूपमा मागदाबी र भुक्तानीको विवरण पठाउनसमेत बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

बाढीपहिरोका कारण क्षति भएका कम्तिमा २० वटा जलविद्युत् कम्पनीबाट बीमा दाबी आउन थालेको छ । स्रोतका अनुसार बाढीपहिरोका कारण भएको क्षतिपछि आइतबारमात्रै निर्जीवन बीमा कम्पनीमा कम्तिमा १०० वटा बीमा दाबी भुक्तानी परिसकेको छ ।

यसैगरी, गोदाम, पसल, मोटर, मोटरसाइकलसम्बन्धी बीमा दाबीहरू पनि बीमकहरुमा आउने क्रम शुरु भएको छ ।  बाढीपहिरोबाट सडक, पुल, सार्वजनिक भवनको समेत क्षति भएको छ तर त्यसको बीमा भने अझै पनि नभएको अवस्था छ । 

छलफलमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले दाबी भुक्तानी यथासम्भव छिटो गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका थिए । ‘कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने भ्रम हटाउन पनि बीमा कम्पनीहरूले छिटो दाबी भुक्तानी दिनुपर्छ,’ छलफलमा उनले भने ।अध्यक्ष सिलवालले हालको विशेष परिस्थितिमा बीमा दाबी विस्तारै थपिँदै जानसक्ने र बाढी तथा पहिरोका कारण बीमालेख हराएको पनि हुनसक्नेतर्फ बीमा कम्पनीहरूले ध्यान दिनुपर्ने बताए ।

छलफलमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुंगेल तथा विभिन्न निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारीहरुको सहभागिता थियो।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved