प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सवको अवसर पारेर फेवा तालमा लाइफ ज्याकेट सहयोग गरेको छ । २०८१ मंसिर २८ गते शुक्रबारका दिन फेवा ताल परिसरमा एक भब्य कार्यक्रम गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको हो ।
लाइफ ज्याकेट हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले संयुक्त रुपमा फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीलाई लाइफ ज्याकेट हस्तान्तरण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापाले देशकै पर्यटकीय नगरी पोखराको मुटु एवं मुख्य आकर्षण फेवातालमा डुंङ्गामा सवार गर्दा लगाइने लाइफ ज्याकेटलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सहयोग गरेकामा धन्यवाद व्यक्त गरे।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईज्यूले समाजलाई प्रत्यक्ष लाभ हुने क्षेत्रमा कम्पनीले सहभागिता जनाउँदै आएको र यो पनि विगतको निरन्तरता भएको बताए।
फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले फेवातालमा प्रयोग भइरहेका लाइफ ज्याकेटको अवस्था जिर्ण हुँदै गएको सन्दर्भमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले यो लेवलको सहयोग गर्नु आफैंमा गर्वको विषय भएको बताए। ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले उपस्थित सबैमा स्वागत मन्तब्य व्यक्त गरे। उनले लाइफ ज्याकेट जस्तो मानिसको जीउज्यानसँग प्रत्यक्ष जोडिने कुरामा कम्पनीले आयोजना गरेको लाइफ ज्याकेट हस्तान्तरण कार्यक्रममा उपस्थित हुन भई कार्यक्रमको शोभा बढाइ दिएकोमा धन्यवाद व्यक्त गरे।
कास्की जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक सोन बहादुर मगर, वित्त विभाग प्रमुख लेखनाथ गौतम, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे, अन्य कर्मचारी, अभिकर्ताको साथै सर्वसाधारणको उपस्थितिमा भएको कार्यक्रम संचालन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख पुष्कर भट्टराईले गरे।