बिमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आबेदन, कसको कस्तो छ 'ब्याकराउण्ड' ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2025 | 07:06:41 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन्। माघ ११ गतेसम्म आवेदन खुला गरिएको समयमा १२ जनाको आवेदन परेको हो।

आवेदन दिने व्यक्तिहरूमा डा. देवराज रोका, शरद ओझा, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, चिरन्जीवी चापागाईँ, डिमप्रसाद पौडेल, विक्रान्त पाण्डे, कमलप्रसाद रेग्मी, रामशरण पुडाशैनी, रमण नेपाल, विष्णुबाबु मिश्र र विनोदकाजी श्रेष्ठ रहेका छन्।

यी आवेदकमध्ये कतिपय बिमा तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव र जिम्मेवारी बहन गरिसकेका व्यक्ति रहेका छन्। विक्रान्त पाण्डे पूर्व बीमाकर्मी हुन् र नेपाल इन्स्योरेन्समा उपमहाप्रबन्धकका रूपमा कार्यरत थिए। डिमप्रसाद पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक हुन् भने डा. देवराज रोका यूवा स्वरोजगार कोषका पूर्वउपाध्यक्ष हुन्। त्यस्तै, विष्णुबाबु मिश्र निक्षेप तथा कर्जा सुरक्षण कोषका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्। रामशरण पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन्। बुद्धकाजी श्रेष्ठ साबिक युनाइटेड इन्स्योरेन्सका सञ्चालक थिए।

चिरन्जीवी चापागाईँ तत्कालीन अर्थमन्त्री कृष्ण बहादुर महराको पालामा बिमा प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए। उनको कार्यकालमा कोरोना महामारीका लागि बिमालेख जारी गरिएको थियो भने जीवन बिमा र निर्जीवन बिमा कम्पनीहरूको इजाजत वितरणसमेत भएको थियो। डाक्टर दामोदर बसौलालाई भने स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदबाट सरकारले पटक-पटक निलम्बनको प्रयास गरेको थियो।

नेपाल बिमा प्राधिकरणको अध्यक्ष पद यसअघि सूर्य सिलवालले सम्हालेका थिए। तर, नागरिकता किर्तेसम्बन्धी अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी पदमुक्त भएका थिए। त्यसपछि अर्थ मन्त्रालयले सहसचिव मदन दहाललाई कार्यवाहक अध्यक्षको रूपमा जिम्मेवारी दिएको छ।

अध्यक्ष पदका लागि प्राधिकरणको सञ्चालक समितिले पुस २६ गते आवेदन खुला गरेको थियो। आवेदनका लागि १५ दिनको समयसीमा तोकिएको थियो। अध्यक्षका लागि आवेदन दिने उम्मेदवारहरूले बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान छ। साथै, सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव पनि अनिवार्य गरिएको छ।

अध्यक्ष पद बिमा क्षेत्रको नीति निर्माण, नियमन, र विस्तारका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यस पदले निजी र सरकारी बिमा कम्पनीहरूको सञ्चालनलाई प्रभावकारी बनाउन र सर्वसाधारणका लागि बिमाको पहुँच वृद्धि गर्न रणनीतिक भूमिका खेल्छ। आवेदन दिएका १२ जना उम्मेदवारमध्ये योग्य व्यक्ति छनोट गर्न सिफारिस समितिले अन्तर्वार्ता र कार्यक्षमता मूल्यांकन प्रक्रिया अपनाउनेछ।

यो नियुक्ति प्रक्रियामा पारदर्शिता र योग्यताको सुनिश्चितता गर्ने अर्थ मन्त्रालयको अडानले यसप्रति सर्वसाधारण र विज्ञहरूको ध्यानाकर्षण बढाएको छ। बिमा प्राधिकरणको नेतृत्वले नेपालको बिमा क्षेत्रको दीर्घकालीन विकास र विश्वसनीयता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यो नियुक्ति आर्थिक र सामाजिक रूपमा प्रभाव पार्ने भएकाले यसप्रति सबैको चासो बढेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved