
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ओझाले नक्कली प्रमाणपत्र तथा झुठा विवरण पेश गरी अध्यक्ष पद हात पारेको आरोप लगाउँदै दिपेन्द्र बोहराले अख्तियारमा उजुरी दिएका हुन्।
बोहराले दर्ता गराएको उजुरीपत्रमा ओझाले प्रस्तुत गरेको अनुभव, उमेर तथा शैक्षिक प्रमाणपत्रमा कैफियत रहेको दाबी गरिएको छ। उजुरीमा सरकारले नियुक्ति गर्दा आवश्यक पर्ने योग्यता मापदण्डको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै अख्तियारले तुरुन्त छानबिन गर्नुपर्ने माग गरिएको छ।
सरकारले फागुन २२ गते बसेको मन्त्रिपरिषद्को बैठकमार्फत ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। नियुक्तिपछि उनको योग्यता र क्षमतामाथि निरन्तर प्रश्न उठ्दै आएको छ।
ओझाको नियुक्ति सार्वजनिक भएपछि बीमा क्षेत्रका सरोकारवाला, विज्ञ तथा सेवाग्राहीहरूले उनको कार्यकालबारे शंका व्यक्त गरिरहेका छन्। स्रोतका अनुसार, अख्तियारले उजुरीलाई गम्भीर रूपमा लिँदै प्रारम्भिक अनुसन्धानको प्रक्रिया अघि बढाइसकेको छ।
यो विवादले बीमा प्राधिकरणको नेतृत्व र पारदर्शितामाथि प्रश्नचिन्ह खडा गरेको छ। यदि ओझामाथिको आरोप पुष्टि भएमा उनको अध्यक्ष पद धरापमा पर्ने देखिन्छ। अख्तियारले यसबारे थप अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने बताइएको छ।