
नेपाल बीमा प्राधिकरणले २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित आफ्नै केन्द्रीय कार्यालय भवनमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाइका लागि ईजलाश सञ्चालन गर्ने भएको छ।
प्राधिकरण सञ्चालक समितिको २०८१ साल फागुन २७ गते बसेको बैठकले उजूरीहरूको सुनुवाइ प्रक्रिया सुचारु गर्न वैशाख १ गतेदेखि लागू हुने निर्णय गरेको हो। यसका लागि प्राधिकरणको भवनमा आवश्यक भौतिक संरचना र अन्य तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिइएको छ।
सञ्चालक समितिले बीमा दाबी सम्बन्धी उजूरीहरूको हकमा साप्ताहिक तथा अन्य पेशी सूची र निर्णयहरू प्राधिकरणको वेबसाइटमा प्रकाशन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। यस निर्णयसँगै बीमा सम्बन्धी उजूरीहरूको व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।