
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐनले तोकेको जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न कर्मचारी युनियन, बीमक संस्थाहरू र अन्य सरोकारवालाको सहकार्य अनिवार्य भएको बताएका छन्।
ललितपुरमा सम्पन्न नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओझाले बीमा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र जनविश्वास योग्य बनाउने लक्ष्यमा सबै पक्षको समान भूमिका रहेको उल्लेख गरे।
उनले भने, “बीमा ऐनले हामीलाई स्पष्ट रूपमा जिम्मेवारी दिएको छ। ती जिम्मेवारी पूरा गर्न हामी सबै सरोकारवालाको सहकार्य बिना सफल हुन सक्दैनौं।”
ओझाका अनुसार बीमा प्राधिकरणले पछिल्लो समय नीतिगत सुधार, नियमन प्रणालीको सुदृढीकरण र बीमक कम्पनीहरूको पारदर्शिता वृद्धि जस्ता विषयमा ध्यान केन्द्रित गर्दै आएको छ। यस्तो सुधार प्रक्रियामा कर्मचारी युनियनदेखि बीमक संस्थाहरूको रचनात्मक सहभागिता अपरिहार्य हुने धारणा उनले व्यक्त गरे।
कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कर्मचारीहरूको हक–हित सम्बोधनमा प्राधिकरण सकारात्मक रहेको जनाउँदै युनियनहरूसँग निरन्तर संवाद आवश्यक भएको बताए।
विशेष अधिवेशनको अध्यक्षता गरेका कर्मचारी युनियनका अध्यक्ष शम्भु प्रसाद मिश्रले बीमा क्षेत्रको दीर्घकालीन सुधार र सुदृढीकरणमा युनियनको भूमिकालाई सक्रिय बनाउने प्रतिबद्धता जनाए।उनले संस्थागत समन्वय र संवादमार्फत कर्मचारी हितका विषयहरूलाई प्रभावकारी रूपमा अघि बढाइने स्पष्ट पारे। बीमा क्षेत्रको विश्वास, पारदर्शिता र स्थायित्वका लागि प्राधिकरण, बीमक कम्पनी र कर्मचारीबीचको सहकार्य निर्णायक हुने स्पष्ट सन्देश अधिवेशनबाट प्रस्तुत गरिएको छ।