कार्यालय स्थापना नगर्ने विदेशी पुनर्बीमा दलाललाई चेतावनी, निर्देशनपछि बजार नियमन कडिएला?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2025 | 06:48:38 AM मा प्रकाशित

नेपाल बीमा प्राधिकरणले नेपालमा कारोबार गर्दै आएका तर अहिलेसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलालहरूलाई तीन महिनाभित्र नेपालमै कार्यालय स्थापना गर्न निर्देशन दिएको छ। बीमा व्यवसायलाई पारदर्शी, उत्तरदायी र नियमअनुसारको बनाउने उद्देश्यले प्राधिकरणले यो कदम चालेको हो।

बीमकको पुनर्बीमा निर्देशिका, २०८० अनुसार, प्राधिकरणमा सूचीकरण गरिसकेका र सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमा दलालहरूले नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नु पर्ने व्यवस्था छ। तर अधिकांश विदेशी पुनर्बीमा दलालहरूले यो व्यवस्था पालना नगरेको अवस्थामा प्राधिकरणले नयाँ निर्देशन जारी गर्दै तीन महिनाभित्र अनिवार्यरूपमा कार्यालय स्थापना गर्न ताकेता गरेको हो।

बीमा व्यवसायमा पुनर्बीमा दलालहरूको भूमिका नीतिगत, जोखिम व्यवस्थापन र व्यवसायिक संरचनाको दृष्टिले महत्वपूर्ण मानिन्छ। यस्ता दलालहरू प्रायः विदेशी पुनर्बीमा कम्पनी र नेपाली बीमा कम्पनीबीच कारोबार मिलाउने मध्यस्थकर्ताको भूमिकामा रहने गर्छन्। तर, कार्यालय बिना सञ्चालन गर्दा पारदर्शिता, जवाफदेहिता र नियमनको दायरा कमजोर हुँदै आएको आलोचना रहँदै आएको छ।

प्राधिकरणको यो निर्देशनपछि लामो समयदेखि नेपालमा अनौपचारिक रूपमा काम गरिरहेका पुनर्बीमा दलालहरू अब वैधानिक रूपमै दर्ता भएर काम गर्न बाध्य हुने देखिन्छ। यद्यपि, नियमनको प्रभावकारिता सुनिश्चित गर्न प्राधिकरणले निर्देशन मात्र नभई त्यसको कार्यान्वयनमा समेत कठोर निगरानी राख्नुपर्ने बीमा विज्ञहरूको सुझाव छ।

बीमा प्राधिकरणको यो निर्देशनले निकट भविष्यमा बीमा क्षेत्रको नियमनात्मक संरचना मजबुत पार्ने अपेक्षा गरिएको छ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved